कोरोना भाइरसको जोखिम बढेपछि १० दिनमा १ सय ७९ कैदी रिहा

Machchapuchchre

काठमाडौं । कोरोना भाइरसको जोखिम उच्च भएपछि सरकारले १ सय ७९ जना कैदीलाई रिहा गरेको छ । सर्बोच्च अदालतले गरेको आदेशानुसार हालसम्म १ सय ७९ कैदी कारागार मुक्त भएका हुन् ।

सर्बोच्च अदालतले यही चैत्र ७ गते एक वर्षभन्दा कम कैद तोकिएका कैदीलाई कारागार मुक्त गर्न आदेश दिएको थियो । सो आदेश लगत्तै एक बर्ष भन्दा कम कैद सजाय भएका १ सय ७९ जना कैदीलाई रिहाई गरिएको कारागार व्यवस्थापन विभागका महानिर्देशक प्रदीपराज कणेलले जानकारी दिए ।

विभिन्न जिल्लामा रहेका आठ बाल सुधार गृहबाट १ सय १९ बालबालिका छुटेका छन् भने अरु कारागारबाट सोमबारसम्ममा ६० जना छुटेका छन् । सर्बोच्चको आदेश अनुसार फौजदारी कार्यविधि संहिताको २०७४ दफा १ सय ५५ को कार्यविधि पुर्‍याएर एक वर्षभन्दा कम कैदहरुले छुट्न चाहदा रितपूर्वक निवेदन दिएपछि उनीहरुकाबारेमा आवश्यक निर्णय हुने कणेलले जानकारी दिए ।

‘छुट्दा कैदीले भूक्तान गर्न बाँकी रहेको समयावधिको प्रतिदिन ३ सय रुपैयाँका दरले हुन आउने राजश्व दाखिला गराउनपर्नेछ,’ कणेलले भने ‘तर यो ब्यवस्था एक बर्षभन्दा कम कैद सजाय ठेकिएकाहरुको हकमा मात्रै हो, अदालतको आदेशपछि छुट्नेहरु सोही प्रक्रिया पुर्‍याएर छुटेका छन्, कति राजश्व दाखिला भएको छ भन्ने निकाल्न बाँकी नै छ ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्