काेराेनाकाे कहर – स्पेनमा एकै दिन ८ सय ३२ जनाको मृत्यु, २४ घण्टामा ८ हजार १८९ नयाँ संक्रमित थपिए

Machchapuchchre

बार्सिलोना । स्पेनमा कोरोना भाइरस (कोभिड-१९) का कारण पछिल्लो २४ घण्टामा आठ सय ३२ जनाको मृत्यु भएको छ । यो भाइरसका कारण स्पेनमा एकै दिनमा मृत्यु भएको अहिलेसम्मकै धेरै हो । शनिबार मध्यान्हसम्म ५ हजार छ सय ९४ जनाको मृत्यु भएको स्पेनको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ।

कुल संक्रमितको संख्या ७२ हजार दुई ४८ पुगेको छ । पछिल्लो २४ घण्टामा आठ हजार १८९ नयाँ संक्रमित थपिएका छन् । त्यो अघिल्लो दिनभन्दा १२.७ प्रतिशतले बढी हो । चार हजार आठ सय ७५ जनाको आईसीयूमा उपाचार भइरहेको छ भने १२ हजार २८५ जना पूर्ण रुपमा निको भएका छन् ।

स्पेनमा सबैभन्दा बढी प्रभावित क्षेत्र राजधानी म्याड्रिड हो । म्याड्रिडमा मात्र दुई हजार सात सय ५७ जनाको मृत्यु भएको छ । यो कुल मृत्यु हुने संख्याको ४८ प्रतिशत हो । राजधानीमा २१ हजार पाँच सय २० संक्रमित भेटिएका छन् ।

म्याड्रिडपछि बढी प्रभावित क्षेत्र क्याटालोनिया हो । सो क्षेत्रमा एक हजार ७० जनाले ज्यान गुमाएका छन् । १४ हजार २६३ जना संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो क्षेत्रमा तीनदेखि चार हजारसम्म नेपालीहरु बसोबास गर्ने ठानिएको छ । हालसम्म चार जना नेपालीहरुलाई संक्रमण देखिएको छ ।

नेपालीहरुको बसोबास रहेको पाईसभास्को तेस्रो बढी प्रभावित क्षेत्र हो । सो क्षेत्रमा पाँच हजार एक सय ३६ जना संक्रमित भेटिएका छन् भने दुई सय २१ जनाको मृत्यु भएको छ । स्पेनमा झण्डै १० हजार नेपाली रहेको नेपाली समाजका अगुवाहरुले बताउँदै आएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्