बागमतीमा राप्रपाबाट ३, एमालेबाट २, नेकपाबाट २ मन्त्री

Machchapuchchre Bank

Artharajniti  ~ बागमती प्रदेशमा नयाँ सरकार गठन प्रक्रियाअनुसार सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाँट र जिम्मेवारी टुंग्याउने काम अन्तिम चरणमा पुगेको छ । एमालेले मुख्यमन्त्रीसहित २ मन्त्रालय, नेपाली कम्युनिस्ट पार्टीले २ मन्त्रालय र राप्रपाले ३ मन्त्रालय पाउने गरी दलहरुबीच बाँडफाँट भएको छ । आन्तरिक विवादका बीच सरकारलाई समर्थन गरेको राप्रपाबाट राजेन्द्र प्रजापति, राजु विष्ट र गिरबहादुर तामाङलाई मन्त्री बनाउने तयारी छ। बागमती प्रदेशको आज गठन हुने सरकारमा नेकपाका नेता सरल सहयात्री पौडेल आर्थिक मामिला तथा योजना मन्त्री बन्ने भएका छन् । भागबण्डाअनुसार नेकपाले पाउने अर्काे एक मन्त्रालयमा कसलाई पठाउने भन्नेबारे औपचारिक रूपमा टुंगाे लाग्न बाँकी छ । नेकपाले अर्का मन्त्रीमा माधव नेपाल पक्षकी रमा आले मगरलाई पठाउने चर्चा पनि छ । उनी यसअघि युवा तथा खेलकुद मन्त्री भइसकेकी छन् । भागबण्डाअनुसार नेकपाले करिब एक वर्षदेखि रिक्त सभामुखसहित २ मन्त्रालय पाएकाे छ । सभामुखकाे पनि टुंगाे लगाइनसकेकाे नेकपाभित्र काभ्रेका रत्नप्रसाद ढकालकाे चर्चा छ । यद्यपि, उनले आफू सभामुख बन्ने टुंगाे लागिनसकेकाे र छलफल भइरहेकाे  बताए । यसअघि राप्रपाबाट सभामुख बनेका भुवनकुमार पाठकले गत भदाैमा जेनजी आन्दाेलनकाे क्रममा सभामुख पदबाट राजीनामा दिएका थिए । त्यस यता सभामुख पद रिक्त छ । उपसभामुख अप्सरा चापागाईंले प्रदेशसभा सञ्चालन गर्दै आएकी छन् । उपसभामुखमा चापागाईंले नै निरन्तरता पाउने भएकी छन् । यसैगरी एमाले, नेकपा र राप्रपाबीच बुधबार टुंगिएकाे मन्त्रालय भागबण्डामा पनि हेरफेर गर्नुपर्ने विषय दलभित्र उठिरहेकाे छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्