कोरोना संक्रमित धनगढीका युवाको सम्पर्कमा आएका ९ जना पनि क्वारेन्टाइनमा

Machchapuchchre

धनगढी । नेपालमा कोरोना भाइरस संक्रमित चौथो व्यक्तिको सम्पर्कमा आएका ९ जनालाई क्वारेन्टाइनमा राखिएको छ । शुक्रबार सरकारले धनगढीका ३४ वर्षीय युवालाई कोरोना संक्रमण देखिएको पुष्टि गरेको थियो ।

धनगढी उपमहानगरपालिका–५ तारानगर घर भएका ती युवकको परिवारका सदस्यलाई क्वारेन्टाइनमा राखिएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ । परिवारका ८ जना सदस्य र उनलाई अस्पताल पु¥याउने अर्का १ जना गरी ९ जनालाई शनिबार बिहान एम्बुलेन्समार्फत सेती प्रादेशिक अस्पताल ल्याइएको थियो ।

अस्पतालमा उनीहरुको स्वास्थ्य परीक्षण गरी क्वारेन्टाइनमा राखिएको हो । कोरोना संक्रमण देखिएका युवकलाई पनि अहिले सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

गत चैत ७ गते फ्लाइ इमिरेट्सको विमानबाट भारतको दिल्ली र दिल्लीबाट बिस्तारा एयरलाइन्सको जहाजमार्फत काठमाडौं आइपुगेका ती युवक ८ गते बुद्ध एयरको जहाजमार्फत नेपालगञ्ज उत्रेर माईक्रो चढी धनगढीस्थित घर आइपुगेका थिए ।

घर आइपुगेको केही दिनपछि ज्वरो आउने तथा खोकी लाग्ने जस्ता लक्षण देखिएपछि ११ चैतमा सेती प्रादेशिक अस्पताल पुगेका थिए । अस्पतालले ११ गते नै उनको स्वाव संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाएको थियो ।

प्रयोगशालामा परीक्षणका क्रममा उनको कोरोना संक्रमण देखिएको थियो । तर, उनले भने अस्पतालबाट कुनै उपचार र सुविधा नपाएको गुनासो गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्