सरकारले महसुलमा २० प्रतिशतसम्म छुट दिने घोषणापछि विद्युतीय चुल्हो प्रयोग गर्ने बढे

Machchapuchchre

काठमाडौँ । पछिल्ला दिनमा आम नागरिकमा विद्युतीय चुल्होको प्रयोगप्रति आमजनताको आकर्षण बढेको छ । सरकारले बुधबार मात्रै विद्युतीय चुल्हो प्रयोग गर्नेलाई विद्युत् महसुलमा २० प्रतिशतसम्म छुट दिने निर्णय गरिसकेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पछिल्लो दिनमा मात्रै तीन हजार बढी विद्युतीय चुल्हो बिक्री गरेको छ ।

विश्वव्यापी रुपमा कोरोना भाइरसको सङ्क्रमण बढेपछि नागरिकमा पनि खाना पकाउने ग्यास नपाउने भन्ने सन्त्रास बढेका कारण विद्युतीय चुल्होमा आकर्षित भएका हुन् । कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालका अनुसार कोरोनाको सन्त्रास फैलिएपछि कम्पनीका विभिन्न बिक्री केन्द्रमार्फत विद्युतीय चुल्हो बिक्री भएको हो ।

गोरखा भूकम्पको समयमा चीनले नेपाललाई अनुदानस्वरुप उपलब्ध गराएको विद्युतीय चुल्होप्रति आमनागरिकले चासो राखेका थिएनन् । पछिल्ला दिनमा कोरोनाको त्रास बढेपछि खाना पकाउने वैकल्पिक उपायका रुपमा विद्युतीय चुल्हो खरिद गर्नेको सङ्ख्यामा वृद्धि भएको हो ।

कम्पनीलाई सरकारले कूल सात हजार ३४० थान विद्युतीय चुल्हो उपलब्ध गराएको थियो । त्यसमध्ये झण्डै ५० प्रतिशत चुल्हो बिक्री भएको खनालको भनाइ छ । पछिल्लो पटक सरकारले साताव्यापी लकडाउन घोषणा गरेको अवस्थामा पनि सरकारको निर्देशन प्राप्त भए मोबाइल भ्यानमार्फत पनि चुल्हो बिक्री गर्न सकिने उनको भनाइ थियो ।

लकडाउनपछि आमसर्वसाधारण चुल्हो खरिद गर्न नआएपछि सरकारी कर्मचारी तथा सरकारले पास उपलब्ध गराएकाहरु कम्पनीको बिक्री केन्द्रमा पुगेर चुल्हो खरिद गरिरहेका छन् । “ लकडाउनभन्दा पहिलेको जस्तो चुल्होको चासो राख्ने त कम छन्, तर पास भएकाहरु भने अहिले पनि खरिद गर्न आइरहेका छन्”, नायब महाप्रबन्धक खनालले भने ।

नेपाल आयल निगमले सहज रुपमा खाना पकाउने एलपी ग्यास उपलब्ध गराउने बताइरहेको भए पनि नागरिकले विद्युतीय चुल्होमा नै चासो राखेको र कोही कसैले चुल्हो खरिद गर्न चाहे सुरक्षात्मक उपाय अवलम्बन गरेर भए पनि बिक्री गर्न सकिने खनालको भनाइ छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पनि विद्युतीय चुल्हो बिक्रीका लागि सरकारले सहजीकरण गरिरहेको जानकारी दिए । उनले विद्युत् महसुलसमेत छुट भएको अवस्थामा नागरिकले एलपी ग्यासको विकल्पमा उक्त चुल्हो नै प्रयोग गर्न सक्ने बताए ।

सरकारले लकडाउनका बेला खाना पकाउने एलपी ग्यासको सम्भावित अभावलाई मध्यनजर गर्दै विद्युतीय चुल्होबाट खाना पकाउँदा विद्युत् महसुलमा छुट दिने निर्णय गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले इन्डक्सनबाट खाना पकाउने ग्राहकलाई १५० युनिटसम्म विद्युत् महसुलमा छुट दिने व्यवस्था मिलाउन प्राधिकरणलाई निर्देशन दिएको छ । ऊर्जामन्त्री वर्षमान पुनले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई इन्डक्सन चुल्हो प्रयोग गर्दा लाग्ने शुल्कमा छुट दिन निर्देशन दिएका छन् । इन्डक्सन चुल्हो प्रयोग गर्ने ग्राहकलाई १५० युनिटसम्म २० प्रतिशत महसुल छुट दिन निर्देशन दिइएको मन्त्री पुनको सचिवालयले जनाएको छ ।

मन्त्री पुनले इन्डक्सनमा छुट दिँदा ग्यासको विस्थापनमा सहयोग पुग्ने बताए । “ग्यास बाहिरबाट आयात गर्नुपर्छ । विद्युत् हाम्रो आफ्नै उत्पादन हो”, मन्त्री पुनले भने, “यसो गर्दा ग्यास किन्न बाहिरिने पैसा देशभित्रै बस्छ, व्यापार घाटा पनि कम हुन्छ ।”

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्