दैनिक उपभोग्य वस्तु घरघरमा पुर्‍याउन उद्योगी/व्यवसायीहरुलाई गृहको निर्देशन

Machchapuchchre

काठमाडौँ । सरकारले दैनिक उपभोग्य वस्तु घरघरमा पुर्‍याउन उद्योगी/व्यवसायीहरुलाई निर्देशन दिएको छ । उद्योग वाणिज्य महासंघ, राजधानीमा सञ्चालित सुपरमार्केट, ग्रोसरी तथा अन्य होलसेल पसल सञ्चालकहरुलाई बोलाएर सरकारले उपभोक्ताको मागअनुसार लकडाउन अवधिभर घरघरमा खाद्यवस्तु पुर्‍याउन निर्देशन दिएको हो ।

गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले बिहीबार उद्योगी/व्यवसायी तथा राजधानीमा सञ्चालित सुपरमार्केट/ग्रोसरी, खाद्य स्टोर तथा महानगरपालिकाका पदाधिकारीसग छलफल गरेको हो। गृहसचिव महेश्वर न्यौपानेले लकडाउन अधिभर उपभोक्तालाई आवश्यकताअनुसार सामान होम डेलिभरी गर्न र स्थानीय प्रशासनसग समन्वय गरेर पास लिन व्यवसायीलाई आग्रह गरेका थिए।

सामान किन्न जानेलाई भीडभाड नगरी पसल पुगेर फर्कन र अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गरिएको तर लकडाउन पालनामा अझै अटेर भइरहेकोले होम डेलिभरीलाई प्राथमिकतामा राखिएको हो। गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले लकडाउन अवधिभर अत्यावश्यक खाद्यवस्तुको आपूर्ति, बिक्रीवितरण तथा व्यवस्थापन सहज बनाउन होमडेलिभरीको व्यवस्था गर्न लागिएको बताए।’

प्रेस विज्ञप्तिको पूर्णपाठ
नेपाल सरकार (मन्त्रिपरिषद्‍) को मिति 2076/12/09 गतेको निर्णय बमोजिम संक्रामक रोग ऐन, 2020 को दफा 2 अनुसार मिति 2076/१२/११ गते बिहान ६ बजे देखि लागु हुने गरी जारी गरिएको आदेशको बारेमा सबै नागरिहरुलाई अवगत नै छ। उक्त आदेश बमोजिम विश्‍व्यापी रुपमा संक्रमण भइरहेको कोरोना भाइरस (COVID-19) बाट आफु सुरक्षित हुन र अरुलाई पनि सुरक्षित बनाउन सबै नागरिकहरुले आफ्नो आफ्नो स्थानबाट नागरिक कर्तव्य पूरा गर्नुहुनेछ भन्‍ने कुरामा मन्त्रालयले विश्‍वास लिएको छ ।

त्यसको लागि सबै नागरिकहरु अत्यावश्यक काम नपरी आफु पनि घरबाट बाहिर निस्कनु हुने छैन र परिवारका सदस्य, साथीभाई, आफन्त, इष्टमित्र, छरछिमेकी लगायत चिनेजानेका सबैलाई घरभित्र नै रहनको लागि उत्प्रेरित गर्नुहुनेछ भन्‍ने अपेक्षा राखिएको छ ।

यसै सन्दर्भमा नागरिकलाई आवश्यक पर्ने दैनिक उपभोग्य खाद्य वस्तुहरुको आपूर्ति व्यवस्थालाई सहज बनाउनको लागि गृह सचिव महेश्‍वर न्यौपानेज्यूको अध्यक्षतामा आज बसेको बैठकले निम्नानुसारका निर्णयहरु गरेको छ ।

1.काठमाण्डौं उपत्यका भित्र रहेका अत्यावश्यक खाद्य वस्तुका सबै Store एवं विक्रेताहरुले आ-आफ्ना Delivery Van मार्फत आवश्यक दैनिक उपभोग्य वस्तुहरुको सहज आपूर्तिको व्यवस्था मिलाउने ।

2.आवश्यक पर्ने Delivery Van हरुलाई सवारी पासको व्यवस्था सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुले मिलाउने।

3.पसलहरु संचालन, माग संकलन र वितरण गर्ने कार्यमा आवश्यक पर्ने सुरक्षा व्यवस्था महानगरीय प्रहरी कार्यालयले मिलाउने ।

4.माग संकलन र वितरण गर्ने कार्यलाई सहज र व्यवस्थित गर्नको लागि सबै Store एवं विक्रेताहरुले आ-आफ्नो Toll Free Number वा अन्य नम्बर उपलब्ध गराई प्रचार प्रसार गर्ने व्यवस्था मिलाउने । फोन, Online, Offline मार्फत माग संकलन गरी माग भएका आवश्यक दैनिक उपभोग्य वस्तुहरुको (Combo Pack समेत) विक्रिवितरण गर्ने ।

5.दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्थापनलाई सहज गर्न गराउनको लागि सबै वडा कार्यालयहरुबाट आवश्यक सहजीकरण गर्ने गराउने व्यवस्था काठमाण्डौं महानगरपालिका र सम्बन्धित उपमहानगरपालिका/नगरपालिकाहरुले मिलाउने ।

6.काठमाण्डौं उपत्यका बाहिर रहेका अत्यावश्यक वस्तुका Store एवं विक्रेताहरुले पनि उपरोक्तानुसारको व्यवस्था मिलाई आपूर्ति व्यवस्थापनलाई सहज बनाउने र यस कार्यमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरुले सहयोग गर्ने ।

यस जटिल घडीमा कुनै समस्या परेमा त्यसको समाधानको लागि तथा कालोबजारी, कृत्रिम अभाव सिर्जना गर्ने, जम्माखोरी जस्ता कार्यहरु गरी बजारमा आवश्यक उपभोग्य खाद्यवस्तुहरुको अभाव देखिएमा यस मन्त्रालयको कुनै पनि शुल्क नलाग्ने र २४ सै घण्टा उठ्ने Toll Free नम्बर ११४९ मा फोन गरी सहयोग गरिदिनु हुन अनुरोध छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्