लकडाउनका बेला कन्टेनरमा लुकेर वीरगन्ज पुगेका ५२ यात्रु पक्राउ

Machchapuchchre

वीरगन्ज । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जारी भएको देशव्यापी लकडाउनका बेला मालवाहक लरीको कन्टेनर चढेर वीरगन्ज आइपुगेका यात्रुलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले कन्टेनरभित्र लुकेर वीरगन्ज आइपुगेका ५२ जना यात्रुलाई मंगलबार राति १२ बजे पक्राउ गरेको हो । सोमबार काठमाडौंमा सामान झारेर फर्किएको ना ५ ख ९५५२ नम्बरको लरीको कन्टेनरमा लुकेर आएका यात्रुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरु काठमाडौं, चितवनको भरतपुर तथा मकवानपुरको हेटौंडाबाट कन्टेनरमा चढेर वीरगन्ज आइपुगेका थिए । प्रहरीले नियन्त्रणमा लिइएका यात्रुमध्ये ३ बालबालिका छन् । प्रहरीले कन्टेनरका चालक शीवनारायण महरालाई पनि पक्राउ गरेको छ ।

प्रहरीले लरीबाट नियन्त्रणमा लिइएका ५२ यात्रु र लरीका चालक गरी ५३ जनालाई स्वास्थ्य परीक्षणका लागि वीरगन्ज भन्सार क्षेत्रमा स्थापना गरिएको हेल्थ डेस्कमा पठाइएको जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्