यस्ता छन उच्चस्तरिय कोरोना रोकथाम समितिले गरेका आठ निर्णय

Machchapuchchre

काठमाडाैं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलज्यूको संयोजकत्वमा गठित कोभिड-१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले विभिन्न आठ निर्णय गरेको छ।

मंगलबार बसेको समिति बैठकले सीमा नाकाहरूमा आइपुगी अलपत्र परेका नेपाली नागरिकहरूलाई एक पटकको लागि नेपाल प्रवेश गर्न अनुमति दिनेदेखि धरान, पोखरा र नेपालगञ्जमा पनि कोरोना-१९ परीक्षण गर्ने तयारी गर्ने निर्णय गरेको हो।

यस्ता छन् निर्णय :

१.कोभिड-१९ को विश्व महामारीको वर्तमान अवस्थामा नेपालमा रहेका विदेशी नागरिकहरुको सुरक्षा नेपाल सरकारले गरिरहेको हुँदा विदेशमा रहेका नेपाली नागरिकहरूलाई सम्बन्धित मुलुकहरूबाट सुरक्षा व्यवस्था मिलाइ आफू रहे बसेको मुलुक छोड्नु पर्ने अवस्था आउन नदिन कूटनीतिक माध्यमबाट अनुरोध गर्ने। साथै, विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई आफू रहेको मुलुकमा सुरक्षित र संयमित रूपमा रहन बस्न आह्वान गर्ने। विदेशस्थित नेपाली नियोगहरूले विदेशमा रहेका नेपाली नागरिकहरूको लागि नियमित सूचना प्रवाह गरी नेपाल सरकारको निर्णय र चालेका कदमहरूको बारेमा अवगत गराउने।

२.नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७६।१२।०९ को निर्णयानुसार मिति २०७६।१२।११ गते बिहान ६ बजेदेखि लागू हुने गरी नेपालको अन्तर्राष्ट्रिय सीमा नाकाहरूबाट आवागमन स्थगन गरेपछि यस अघि नेपालतर्फ यात्रा आरम्भ गरी विभिन्न स्थलगत सीमा नाकाहरूमा आइपुगी अलपत्र परेका नेपाली नागरिकहरूलाई एक पटकको लागि नेपाल प्रवेश गर्न अनुमति दिने। यसरी प्रवेश हुने व्यक्तिहरूको अनिवार्य रूपमा स्वास्थ्य जाँच गरी कम्तीमा १४ दिन क्वारेन्टाइनमा रहने व्यवस्था सम्बन्धित प्रदेश सरकार र स्थानीय तहले मिलाउने।

३.वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान-धरान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान-पोखरा र भेरी अस्पताल-नेपालगञ्जका प्रयोगशालाहरूमा कोभिड-१९ को परीक्षण कार्य यथाशीघ्र सुरू गर्ने। यसका लागि आवश्यक परीक्षण सामग्री र तालिमको व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिलाउने। ती स्थानहरूमा प्रयोगशाला परीक्षण सेवा सञ्चालन नभएसम्मका लागि विराटनगर र नेपालगञ्जबाट स्वाब संकलन गरी हवाई मार्गबाट काठमाडौं ल्याउने व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्ने।

४.नेपालमा कोभिड-१९ को संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि अत्यावश्यक औषधि, उपकरण तथा चिकित्सा सामग्रीहरू मित्रराष्ट्र चीन र भारतबाट शीघ्र ल्याउने व्यवस्थाका लागि परराष्ट्र मन्त्रालयले समन्वय गर्ने।

५.संक्रमणको रोकथाम नियन्त्रण र उपचारका लागि अत्यावश्यक हुने औषधि, उपकरण र उपचारका सामग्रीको शीघ्र आपूर्ति गर्न स्वास्थ्य सेवा विभागले आजै पुनः सार्वजनिक सूचना जारी गर्ने। यससम्बन्धी विषयमा संभावित आपूर्तिकर्तासँग भोलि नै छलफल गरी त्यस्ता सामग्रीको आपूर्ति २०७६।१२।१५ भित्र गर्ने व्यवस्था मिलाउने। आपूर्ति गरिने त्यस्ता सामग्रीको ढुवानी गर्न कुनै समस्या देखिएमा नेपाल सरकारले सोको व्यवस्था मिलाउने।

६.सवारी आवागमनको हकमा कूटनीतिक उन्मुक्ति तथा सुविधा प्राप्त नियोग, व्यक्ति तथा संघसंस्थाहरूलाई छुट दिने। साथै, प्रेस पास प्राप्त गरेका सञ्चारकर्मी तथा स्वास्थ्य सेवामा खटिएका चिकित्सक, नर्स, फर्मासिष्ट, प्रयोगशालामा काम गर्ने प्राविधिक, औषधि उत्पादन ढुवानी र विक्री/वितरणमा संलग्न हुने जनशक्ति लगायत स्वास्थ्य उपचारमा संलग्न सबैलाई निजको परिचयपत्रको आधारमा आवतजावत गर्न दिने।

७.कोरोना संक्रमणको रोकथाम, नियन्त्रण र उपचारको लागि सहयोग पुर्‍याउन नेपाल सरकारले ‘कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोष’ स्थापना गरिसकेको सन्दर्भमा सोही प्रयोजनका लागि अन्य कुनै निकाय वा संघसंस्थाले छुट्टै कोष स्थापना नगर्ने। यदि छुट्टै कोष खडा गरिसकेको भएमा त्यस्तो कोषमा आफू मातहतका संघसंस्था तथा व्यक्तिबाट मात्र रकम जम्मा गर्ने। यसरी जम्मा भएको रकम प्रत्येक हप्ता नेपाल सरकारले स्थापना गरेको कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नं. १९६०००००११०१ मा अनिवार्य रूपमा जम्मा गर्ने। यसको जानकारी सार्वजनिक सूचना जारी गरी सबैलाई दिने।

८.नोभेल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सचिवालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको छ। यस सम्बन्धमा समितिबाट भएका निर्णयहरू र यससम्बन्धी विषयमा कुनै सल्लाह, सुझाव वा जानकारी लिन / दिन र नेपाल सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोष’ मा रकम जम्मा गर्न समन्वय समितिका सचिव एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव श्री नारायणप्रसाद विडारी (९८४८५९४९८३) लाई सम्पर्क गर्न सार्वजनिक सूचना जारी गर्ने।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्