लकडाउन उल्लंघन हुन थालेपछि नेपाली सेना पनि सडकमा, कर्फ्यू नै लगाउने प्रहरीको चेतावनी

Machchapuchchre

जनकपुरधाम । प्रदेश नम्बर २ का जनताले केन्द्र सरकारले आव्हान गरेको लकडाउन उल्लंघन गरेकाे छन्। जसकारण सप्तरीमा नेपाली सेना नै सडकमा उत्रिएको छ । प्रदेश २ काे अस्थायी राजधानी जनकपुरधाममा भीड पातलिए पनि सर्वसाधारण घरबाट बाहिर आउन छाडेका छैनन् । फाटफुट पसलहरु पनि सञ्चालनमै छन् । मुख्य सडकदेखि अन्य बजार क्षेत्र भएर मान्छेहरु आवत–जावतहरु गरिरहेका छन् ।

सिरहाको लाहानमा गुद्री हटिया बन्द गर्न नमान्दा प्रहरी परिचालन गर्नुपरेको छ । प्रहरी परिचालन गरेर गुद्री हटिया बन्द गराइएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको निर्णय कार्यान्वयन गराउन सप्तरी सदरमुकाम राजविराजसहितका ठाउँमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रहरीको संख्या अपुग भएको भन्दै सेनालाई पनि खटाइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जनार्दन कट्टेलले जानकारी दिए । सर्वसाधारण घर बाहिर आउँदा उनीहरुलाई सम्झाएर घरभित्रै बस्न सुरक्षाकर्मीले आग्रह गरिरहेको प्रशासकीय अधिकृत कट्टेलले बताए ।

महोत्तरी, सर्लाही जिल्लामा पनि फाटफुट मान्छेहरु बाहिर निस्किरहेका छन् । रौतहट जिल्लामा लकडाउनको पालना गरिएको छ । न्यून मान्छेहरु बाहिर निस्केका छन् । बारा र पर्सामा भने लक डाउनको पूर्ण पालना हुन सकेको छैन । सर्वसाधारण अझै बाहिर आइरहेका छन् ।

जनकपुरधाममा बिहानैदेखि मोटरसाइकल गुडाउन बन्द नभएपछि प्रशासनले यसतर्फ चासो लिएको छ । ‘घरभित्र बस्नुपर्ने कुरा आफैंले बुझ्नुपर्ने हो’ धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले भने, “नबुझेको खण्डमा हामी सम्झाइ बुझाइ गर्छाैं ।’ उनले सम्झाउँदा पनि मोटरसाइकल गुडाउन नछाड्नेको चाबी नियन्त्रणमा लिने बताए । ‘चाबी नियन्त्रणमा लिएर एक सातासम्म राख्न लाउँछौं’ उनले भने ।

कोरोना संक्रमणबाट बच्न घरमै बस्नुपर्ने सरकारी निर्णयलाई अटेरी गरिरहे प्रदेश २ मा कर्फ्यू नै लगाउने मनस्थितिमा स्थानीय प्रशनसन पुगेको छ । बिहानैदेखि घरबाट बाहिरने क्रम बढेको छ जानकारी दिदै प्रदेश २ का प्रहरी प्रमुख डीआइजी प्रधुम्न कार्कीले भने, ‘अवस्था यस्तै रहे हामी कर्फ्यू लगाएर भएपनि सबैलाई घरमा बस्न लगाउछौ ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्