आजदेखि देशैभरि लक डाउन, सुनासान बन्यो काठमाडाैं

Machchapuchchre

काठमाडाैं । कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर सरकारले मंगलबार बिहान ६ बजेदेखि देशभरि लक डाउन गरेको छ। आज बिहानैदेखि सार्वजनिक तथा निजी सवारी साधन नचलेपछि सडक खाली भएका छन्। सरकारले घरभित्रै बस्नु भनेकाले सडकमा मानिसहरू देखिएका छैनन्। अत्यावश्यकबाहेक पसल पनि बन्द छन्।

सरकारले यो लक डाउन एक सातासम्मका लागि लागू हुने जनाएको छ। आइतबार काठमाडौंमा एकजना युवतीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो। फ्रान्सबाट दोहा हुँदै काठमाडौं आइपुगेकी ती युवतीमा कोरोनाको संक्रमण देखिएको सोमबार सार्वजनिक भएको थियो।

सोमबार साँझै बसेको कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणसम्म्बन्धी उच्चस्तरीय समन्वय समितिले मंगलबार बिहानदेखि देशभरि लक डाउन गर्ने निर्णय गरेको थियो। लक डाउनमा सरकारबाट अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक तथा निजी सवारी साधन बन्द गर्नुपर्छ। सरकारले आन्तरिक व्यवसायिक उडान समेत बन्द गरेको छ।

स्वास्थ्य सुरक्षा, खाद्यवुस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अति आवश्यक सेवा बाहेक अन्य कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने कर्मचारीमात्र सरकारी कार्यालयमा उपस्थित हुने व्यवस्था मिलाउने निर्णय समेत सरकारले गरेको छ।

साथै, सरकारले आवश्यकता परे अन्य कर्मचारीलाई तत्काल उपस्थित हुने गरी कार्यालय प्रमुखले बिदा दिन सक्ने व्यवस्था गरेको छ। सरकारले निजी क्षेत्रका उद्योग, कलकारखानाका कर्मचारीलाई सम्बन्धित उद्योगले बिदा दिने व्यवस्था मिलाउने निर्णय समेत गरेको छ।

कोरोनाभाइरसको संक्रमण फैलने जोखिमलाई कम गर्न सरकारले लकडाउनको निर्णय गरेको पर्यटन मन्त्री योगेश भट्टराईले जानकारी दिए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्