आजदेखि भारत र चीनका सीमा नाका बन्द, ढुवानी भने नरोकिने

Machchapuchchre

काठमाडाैं । कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण रोकथामका लागि सोमबारदेखि भारत र चीनका सीमा नाका बन्द हुने भएको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सोमबार बिहान १० बजेदेखि लागू हुनेगरी दुवै छिमेकी देशका सबै नाकाबाट हुने यात्रु आवागमन एक हप्ताका लागि स्थगित गर्ने निर्णय गरेको छ ।

सीमा वारपारको ढुवानी भने नियमित हुनेछ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आइतबार राति सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए ।

उहाँले भन्नुभयो, ‘यो अहिले तत्कालका लागि लिइएको निर्णय हो । लामो समय रोक्नुपर्ने स्थिति आएमा दुई पक्षिय वार्ताबाट निर्णयमा पुग्नेछौ ।’ उनले एक देशको सङ्क्रमण अर्को देशमा नसरोस भनेर छिमेकी देशकोसमेत हितलाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको बताए ।

कोरोना सङ्क्रमण विरुद्ध लड्नका लागि सरकारले केन्द्रीय राहत कोषकोे स्थापना गरेको छ । कोषमा सरकारले ५० करोड रुपैयाँ राख्ने भएको छ । त्यसैगरी संघीय सरकारका मन्त्रीहरुको एक महिनाको तलब पनि कोषमा जम्मा गर्ने निर्णय पनि बैठकले गरेको छ ।

कोषमा जम्मा भएको रकम कोरोनासँगसम्बन्धित क्षेत्रमा पूर्वाधार तयार गर्ने र सम्भावित जोखिमलाई निराकरण गर्ने काममा खर्च गर्नेगरी कार्यविधि बनाइने मन्त्री खतिवडाले जानकारी दिए । साथै सरकारले कोषमा सहयोग गर्न अन्य सबैलाई आह्वान पनि गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्