विदेशबाट नेपाल आउने सबैले १४ दिनसम्म क्वारेन्टाइनमा बस्नु पर्ने, सुचनासहित

Machchapuchchre

काठमाडौँ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको प्रभाव विश्वव्यापी बनेको छ । अहिलेसम्म १ सय २७ वटा देशमा कोरोना भाइरसको संक्रमण देखिएको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारीको घोषणा समेत गरेको छ ।

विश्वव्यापी रुपमा कोरोनाको प्रभाव फैलिएसँगै कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै अध्यागमन विभागले विदेशबाट आउनले नागरिकलाई नेपाल प्रवेशमा कडाइ गरेको छ । विदेशबाट आउने नेपाली नागरिक तथा विभिन्न उद्देश्यले नेपाल आउने विदेशी नागरिकका लागि अध्यागमन विभागले विभिन्न शर्त पालना गर्नुपर्ने गरी सूचना जारी गरेको छ ।

विभागका अनुसार कुनै पनि विदेशी यात्रुका लागि नेपाल प्रवेशको ‘अन अराइभल भिसा’ निलम्बन गरिएको छ । पूर्व प्रवेशाज्ञाका आधारमा नेपाल आउने विदेशी नागरिकले बढीमा सात दिन अघिको ‘स्वाब’ परीक्षण रिपोर्ट पेश गर्नुपर्ने छ । गैरआवासीय नेपालीका हकमा पनि यो प्रावधान लागू हुने विभागले जनाएको छ ।

शनिबारदेखि नेपाल आउने सम्पूर्ण स्वदेशी एवं विदेशी नागरिक, गैरआवासीय नेपालीले समेत नेपाल प्रवेश गरेको दिनबाट १४ दिनसम्म अनिवार्य रुपमा ‘होम क्वारेन्टाइन’ मा बस्नुपर्ने विभागले प्रष्ट पारेको छ । यस्तै, विदेशी कुटनीतिक नियोगका पदाधिकारी एवं कर्मचारी नेपाल प्रवेश गर्दा १४ दिनसम्म ‘सेल्फ क्वारेन्टाइन’ मा बस्नुपर्ने जनाइएको छ ।

स्थलमार्गबाट तेस्रो मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाइएको छ भने उनीहरुका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमात्र नेपाल भित्रिने एकमात्र नाकाका रुपमा तोकिएको विभागको भनाइ छ । विभागले शुक्रबार जारी गरेको सूचनाअनुसार शनिबार मध्यरातदेखि आगामी अप्रिल ३० सम्मका लागि यी प्रावधान लागू हुनेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्