काठमाडाैं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका १२७ मा पुगेको छ । चीनको वुहानबाट फैलिएको यो भाइरसको संक्रमणबाट ४ हजार ९ सय ७३ जनाको मृत्यु भएको छ ।
अहिलेसम्म १ लाख ३४ हजार ६ सय ७८ जना संक्रमित छन् । संक्रमितमध्ये ६९ हजार १ सय ४२ जना स्वास्थ्यलाभ गरी घर फर्किएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । कोरोनाको संक्रमणबाट सबैभन्दा बढी चिनियाँ नागरिक प्रभावित भएका छन् । चीनका ८० हजार ७ सय ९७ मा संक्रमण फैलिएको छ भने ३ हजार १ सय ७० जनाले ज्यान गुमाएका छन् ।
चीनबाटै फैलिएको यो भाइरसको संक्रमण चीनमा भने नियन्त्रणमा आउनेक्रम जारी छ । चिनियाँ सञ्चारमाध्यमले सार्वजनिक गरेको तथ्यांक अनुसार कोरोना प्रभावित नयाँ ४ जनामात्र फेला परेका छन् भने बिहीबार एक जनाको मात्र मृत्यु भएको छ । संक्रमित चिनियाँ नागरिक स्वास्थ्यलाभ लिएर फर्कनेक्रम बढेको चिनियाँ अधिकारीहरुले बताएका छन् ।
चीनले कोरोना भाइरसको संक्रमण नियन्त्रण भएको दाबी गरिरहँदा छिमेकी भारतमा भने कोरोनाको संक्रमण फैलिन थालेको छ । भारतमा कोरोना लागेका पहिलो एक व्यक्तिको मृत्यु भएको छ । कोरोनाको संक्रमणमा रहेका कर्नाटकको कलबुर्गीमा ७६ वर्षीय एक व्यक्तिको मृत्यु भएको बीबीसीले जनाएको छ । उनी साउदी अरेबियाबाट केहिदिन अघिमात्र भारत आएका थिए ।
कर्नाटक राज्यका स्वास्थ्य तथा परिवार कल्याण विभागले भनेको छ, ‘यो विषयमा सबै दिशानिर्देशनहरुको पूर्ण पालना भइरहेको छ । उनको सम्पर्कमा आएका सबैलाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको छ । ती व्यक्ति तेलंगनाको एक निजी अस्पतालमा गएका थिए यस कारण तेलंगना सरकारलाई पनि सचेत गराइएको छ ।’
केन्द्र सरकारद्वारा जारी विज्ञप्तिका अनुसार साउदीअरबबाट फर्केपछि स्वास फेर्न अप्ठ्यारो, खोकी र निमोनियकोल लक्षण देखिएपछि मार्च ६ मा एक डाक्टरले उनको घरमा नै उपचार गरेका थिए । तर स्वास्थ्य लगातार बिग्रेपछि मार्च ९ मा उनी कलबुर्गीमा एक निजी अस्पतालमा भर्ना भए ।
अस्पतालको प्रराम्भिक जाँचमा उनलाई कोरोना भाइरसको संक्रमणको आशंका गरियो । त्यसपछि विस्तृत जाँचका लागि बेंग्लोरको ल्यावमा परीक्षण भयो । जाँचको रिपोर्ट आउनु अगाबै उनलाई हैदराबादको एक निजी अस्पतालमा भर्ना गरियो । त्यसपछि मार्च १० मा उपचारकै क्रममा उनको मृत्यु भयो ।
कोरोनाको संक्रमण इटालीमा फैलने क्रम बढेको छ । इटालीमा अहिलेसम्म १५ हजार १ सय १३ जनामा संक्रमण देखा परेको छ भने १ हजार १६ जनाले ज्यान गुमाएका छन् । त्यस्तै इरानमा १० हजार ७५ संक्रमित रहेको र ४ सय २९ जनाले ज्यान गुमाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दक्षिण कोरियामा ज्यान गुमाउनेको संख्या ६७ पुगेको छ भने ७ हजार ९ सय ७९ जना संक्रमित छन् ।