चीनद्वारा कोरोना भाइरसको महामारी अन्त्य भएको घोषणा

Machchapuchchre

काठमाडौं । चीनले नोवल कोरोना भाइरसको महामारी अन्त्य भएको घोषणा गरेको छ । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ताले महामारी अन्त्यको घोषणा गरेका सिन्ह्वाले जनाएको छ । चीनमा वुहानबाहिर नयाँ बिरामी नदेखिएपछि चीनले महामारी अन्त्यको घोषणा गरेको हो । चीनले वुहानका सबै अस्थायी अस्पताल पनि बन्द गरिसकेको छ ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस सङ्क्रमणको समस्या प्रकोपका रूपमा घोषणा गरेको केही घण्टापछि चीनले महामारी अन्त्यको घोषणा गरेको हो । कोभिड–१९ सङ्क्रमणका नयाँ विरामी आउने क्रम घटिरहेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगका एक प्रवक्ता मी फङले बताए । उनले भने, “चीनमा महामारीका रूपमा फैलिएको कोभिड–१९ भाइरस सङ्क्रमणको प्रभाव निकै तल झरेको छ ।”

मीले भने, “चीनको मध्य क्षेत्रमा रहेको हुबेई प्रान्तको राजधानी वुहानमा नयाँ सङ्क्रमण पुष्टिका घटना एक अङ्कमा भरेको छ ।” वुहानमा नयाँ सङ्क्रमणको सङ्ख्या बुधबार आठ व्यक्तिमा सिमित भएको उनले पुष्टि गरे । “हुबेईका अन्य सहरमा पनि सङ्क्रमितको सङ्ख्या एक हप्ता यता यही दरमा रहेकोले चीनले कोभिड–१९ विरूद्धको लडाईंमा विजयको नजिक पुगेका छौं,” उनले भने ।

उनले भने, “हुबेईबाहिर मुख्यभूमि चीनमा कूल सात नयाँ व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ तर त्यसमध्ये छ जना विदेशबाट आएका रहेका छन् ।” चीनको उच्च प्राथमिकता नागरिकको स्वास्थ्य र उपचार रहेकोले अझै केही समय सङ्क्रमण नियन्त्रण अभियानमा निष्क्रियता नआउने अर्थात् नियन्त्रण प्रयासलाई सक्रिय बनाइराख्ने उनको भनाई थियो ।

विश्व स्वास्थ्य संगठनले बुधबार कोभिड–१९ सङ्क्रमण विश्वमा फैलिने क्रम बढ्दो रहेकोले यसलाई विश्वव्यापी ‘प्रकोप’ भनेपछि चीनको भने यस्तो धारणा आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्