नियमित पत्रकार सम्मेलनमा अर्थमन्त्रीले भने – पुँजीबजारमा कम्पनी हेरेर लगानी गर्नुहोस, प्रधानमन्त्रीको स्वास्थ्य सोचेभन्दा राम्रो

Machchapuchchre

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पुँजीबजारमा कम्पनीको अवस्था हेरेर लगानी गर्न लगानीकर्तालाई आग्रह गरेका छन् । सरकार निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासम‍ेत रहेका मन्त्री खतिवडाले विगत दुई वर्षमा पुँजीबजारमा ठूलो सुधार भएको भन्दै कुनै एक व्यक्तिको मुख हेरेर लगानी नर्गन लगानीकर्तालाई सचेत गराए ।

‘कम्पनीको वासलात हेरेर निर्णय गर्नुहोस्, मान्छेको अनुहार हेरेर होइन,’ पत्रकारको प्रश्नको जवाफ दिँदै उनले भने । अर्थमन्त्री पुँजीबजारप्रति अनुदार रहेको भनी सार्वजनिक टिप्‍पणी भइरहेका बेला मन्त्री खतिवडाले व्यक्ति हेरेर लगानी नगर्न आग्रह गरेका हुन् ।

पछिल्लो दुई वर्षमा पुँजीबजारमा भएको सुधार यसअघि धेरै वर्षको प्रयासमा समेत नभएको उनको भनाइ छ । सरकारका नीतिगत निर्णयमा समस्या भए कुराकानी गर्न तयार रहेको समेत उनले उल्लेख गरे । सरकारका प्रवक्तासमेत रहेको अर्थमन्त्री खतिवडाले प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको पनि बताएका छन् ।

‘प्रधानमन्त्रीको स्वास्थ्य सोचेभन्दा राम्रो भइरहेको छ । उहाँको स्वास्थ्य शीघ्र सुधार भइरहेको छ । उहाँलाई तरल पदार्थ खुवाउन थालिएको छ’, मन्त्री खतिवडाले भने, ‘मिर्गौला दाताको स्वास्थ्य पनि राम्रो हुँदै गइरहेको छ ।’ प्रधानमन्त्री ओलीको बुधवार टिचिङ अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्