कोरोना भाइरसका कारण एभरेस्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिता स्थगित

Machchapuchchre

काठमाडाैं । कोरोनाभाइरसका कारण आगामी चैत १ देखि १५ गते सम्म काठमाडौंमा हुने तय एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिता स्थगित भएको छ। इपिएलका कार्यकारी निर्देशक आमिर अख्तरले कोरोनाको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै लिग अनिश्चितकालका स्थगित गरिएको जानकारी दिए।

उनले अर्को घोषणा नभएसम्मका लागि लिग स्थगित गरिएको जानकारी दिए। उनले विदेशी खेलाडी र नेपाली राष्ट्रिय टिमको खेल तालिका मिलाएर अर्को मिति घोषणा गर्ने बताए।

इपिएलमा ६ टिमबीच प्रतिस्पर्धा हुने तय थियो। यसपटकको इपिएलमा वेस्ट इन्डिजका क्रिस गेल, ड्वायन स्मिथ, न्युजिल्यान्डका कोरि एन्डर्सन, श्रीलंकाका उपुल थाराङ्गा, अफगानिस्तानका मोहमद साहजाद, आयरल्यान्डका केभिन ओ’ब्रायन र पाउल स्टर्लिङ लगायतका खेलाडी नेपाल बताइएको थियो।

विश्वभर फैलिरहेको कोरोनाभाइरसका कारण खेलकुदका प्रतियोगितालाई असर गरिरहेको छ। कतै खेलकुद प्रतियोगिता स्थगित भएका छन् भने कतै विनादर्शक खेल खेलाइएको छ। प्रत्यक्ष खेल हेर्नका लागि हजारौं दर्शक भेला हुने भएकाले खेलकुद प्रतियोगिता प्रभावित भएका छन्।

यसैबीच कोरोनाभाइरसको संक्रमणको जोखिमका कारण नेपाल र अस्ट्रेलियाबीच चैत तेस्रो साता हुने खेल सर्ने सम्भावना बढेको छ। फिफा विश्वकप २०२२ र एसिया कप २०२३ को छनोटअन्तर्गत नेपाल र अस्ट्रेलियाबीच आगामी चैत १८ गते दशरथ रंगशालामा दोस्रो लेग हुने तय छ।

कोरोनाको जोखिम बढ्दै जादा एसियाली फुटबल महासंघ (एएफसी) ले विभिन्न खेल स्थगित गरिरहेको अवस्थामा विश्वकप छनोटका खेल पनि प्रभावित हुने सम्भावना बढेको हो। एएफसीले कोरोनाका कारण एएफसी च्याम्पियन लिगका खेल २ महिना पर सारिसकेको छ।

गत सोमबार एएफसीको पूर्व क्षेत्रका राष्ट्रबीच छलफल भएको थियो। अब शनिबार र आइतबार पश्चिम क्षेत्रका सदस्य राष्ट्रबीच बैठक हुँदैछ। बैठकपछि विश्वकपका खेल तालिकाको विषयमा निर्णय हुनेछ। बैठकले निर्णय गर्नुअघि नै अस्ट्रेलियन मिडियाहरुले नेपाल र अस्ट्रेलियाबीचको खेल सर्ने समाचार प्रकासित गरेका छन्।

सिड्नी हेराल्डले अस्ट्रेलियाको मार्च २६ मा कुवेतविरुद्ध पर्थमा हुने खेल र मार्च ३१ मा नेपालविरुद्ध काठमाडौंमा हुने खेल स्थगित हुने दाबी गर्दै समाचार प्रकासित गरेको छ। यस्तै अस्ट्रेलिया र जोर्डनबीच जुन ४ मा सिड्नीमा हुने खेल पनि स्थगित हुने भनिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्