अखिल क्रान्तिकारीले दियो त्रिविमा ज्ञापनपत्र, नेताहरु रिहा नगरे प्रतिउत्पादक हुने चेतावनी

Machchapuchchre

काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी) त्रिभुवन विश्वविद्यालयमा ज्ञापनपत्र बुझाएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले स्ववियु चुनाव र आफ्नो संगठनका अध्यक्षसहितका नेता कार्यकर्ताको गिरफ्तारीको विरोध गर्दै चारबुँदे ज्ञापनपत्र बुझाएको हो । संगठनका उपाध्यक्ष रुद्र भट्टराईले विहीबार त्रिविका कुलपतिलाई ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा स्ववियु चुनावको तयारीमा रहेका संगठनका अध्यक्ष चिरञ्जीवी ढकाल, कोषाध्यक्ष नरेन्द्र बिकसहितका नेताहरु गिरफ्तार हुँदा पनि त्रिविले मुखदर्शक बनेको भन्दै विरोध जनाइएको छ । त्यसैगरी स्ववियु चुनावको तयारीको क्रममा त्रिवि मातहतका क्याम्पस परिसरबाटै विद्यार्थी नेताहरुलाई गिरफ्तार गरी सरकारले झुटा मुद्दा लगाएर संविधानकै उलंघन गरेको बताइएको छ ।

”त्रिविले स्ववियु निर्वाचतको घोषणासँगै तयारी थालेपछि देशव्यापी निर्वाचतमा हाम्रो संगठन जुटिरहेको अवस्थामा सरकारले राजनैतिक आस्थाको आधारमा गैरन्यायीक ढंगबाट संगठनका अध्यक्ष चिरञ्जीवी ढकाल, कोषाध्याक्ष नरेन्द्र बिक, केन्द्रीय सचिवालय सदस्य विरेन्द्र लोहार, केन्द्रीय सदस्यहरु इश्वर पाण्डे, प्रकाश बिक, साथै त्रिवि इकाई कमिटी अध्यक्ष मदन चापागाईँलगायत देशव्यापी रुपमा संगठनका नेता कार्यकर्ता गिरफ्तारी गरेकोप्रति संगठन घोर निन्दा एवं भत्सर्ना गर्दै अविलम्ब रिहाईको माग गर्दछ” ज्ञापनपत्रमा भनिएको छ ।

त्यसैगरी स्ववियु चुनावको तयारीकै क्रममा विश्वविद्यालयको हाताबाटै संगठनका नेताहरु गिरफ्तार हुँदा समेत रिहाईको लागि त्रिवि नेतृत्वले कुनै पहल नगर्नु आपत्तिजनक भएको बताउँदै ज्ञापनपत्रमा शान्ति क्षेत्र घोषणा गरिएको विश्वविद्यालय, क्याम्पसहरुमा अनुमतिविना नै प्रहरी प्रवेश गर्नु लज्जाजनक भएको बताइएको छ । आफ्नो संगठनलाई स्ववियु चुनावमा भाग लिन नदिन षड्यन्त्र भइरहेको उल्लेख गर्दै ज्ञापनपत्रमा त्यसको सामना गर्ने बताइएको छ । सरकारी रवैया पनि पदाधिकारीमा देखिनु त्रिविको लागि प्रतिृउत्पादक हुने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

“विश्वविद्यालय हाताबाट विद्यार्थी नेतृत्व गिरफ्तारी हुँदा समेत विश्वविद्यालयले कुनै पहल नगरिनु, प्रहरी प्रशासन अनुमति बिना विद्यार्थीलाई आतंकित गर्दै त्रिवि मातहतका क्याम्पसहरुमा प्रवेश गर्नु लज्जास्पद विषय हो । जुन प्रकारले हाम्रो संगठनलाई स्ववियु चुनावमा भाग लिन नदिने षड्यन्त्र भएको छ, यसको सामना संगठन जुनसुकै तरिकाबाट पनि गर्नेछ । सरकारको प्रतिबिम्ब देखिनु अविश्यमा पदाधिकारीको लागि प्रतिउत्पाद हुनेछ” ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

यस्ता छन् मागहरुः
१. संगठनका केन्द्रीय समिति अध्यक्ष चिरञ्जीवी ढकाल, कोषाध्यक्ष नरेन्द्र बिक, सचिवालय सदस्य विरेन्द्र लोहार र केन्द्रीय सदस्यहरु इश्वर पाण्डे, प्रकाश बिक र त्रिवि कमिटी अध्यक्ष मदन चापागाईँसहित गिरफ्तार गरिएका नेता कार्यकर्तामाथिका मुट्टा मुद्दा खारेज गरी अविलम्ब रिहाई गरियोस् । साथै स्ववियु निर्वाचनको तयारीको सिलसिलामा देशैभरीबाट गिरफ्तार गरिएका नेता कार्यकर्ताहरुलाई विनासर्त तत्काल रिहाई गरियोस् ।

२. विद्यार्थी संगठनको सर्वपक्षीय सहमतिसहित स्ववियु निर्वाचनको मिति तत्काल घोषणा गरी हाम्रो संगठनलाई लगाइएको अघोषित प्रतिबन्ध खारेज गरी निर्वाध ढंगले संगठनात्मक गतिविधि गर्न पाउने ग्यारेण्टीसहित निर्वाचनको वातावरण सिर्जना गरियोस् ।
३. त्रिवि र मातहतका कलेजहरुमा प्रहरी प्रशासनको प्रवेश र संगठनको गतिविधिमाथि हुने हस्तक्षेप तत्काल बन्द गरियोस् ।
४. स्ववियुको हाल मिश्रित निर्वाचन प्रणाली परिवर्तन गरी समानुपतिक प्रणालीमा निर्वाचन गरियोस् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्