साढे चार महिनापछि गृहजिल्ला झापा पुगे प्रधानमन्त्री ओली, सडक र पुल उद्घाटन

Machchapuchchre

काठमाडाैं । विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली साढे ४ महिनापछि आइतबार गृहजिल्ला झापा गएका छन्। प्रधामन्त्री ओलीले आज दमक-रबी चिसापानी सडकको शिलन्यास, झापा- मोरङ जोड्ने मावा खोलाको पुल र दमक कृष्णमन्दिरबाट ढुकुरपानी जाने सडकको उद्घाटन गरेका छन।

त्यस्तै संघीय संसद विकास कार्यक्रम र दमक नगरपालिकको संयुक्त प्रयासमा भएको गरिब आवास कार्यक्रम अन्तर्गत बनेका २५ वटा घरको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको नेकपा प्रदेश १ का सदस्य दीपक कार्कीले जानकारी दिए। प्रधानमन्त्री ओलीले आइतबार अपराह्न बेलडाँगीमा आयोजित समारोहलाई सम्बोधन गर्नुहुने कार्यक्रम पनि रहेको छ ।

प्रधानमन्त्री ओली झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका हुन्। दमक उनकै क्षेत्रमा पर्छ। प्रधानमन्त्री ओली २०४८ सालयता भएका ६ वटा निर्वाचनमध्य ५ वटामा विजयी भएका छन्। कार्कीका अनुसार प्रधानमन्त्री ओली गत असोजमा दसैं मान्न झापा गएका थिए। त्यसपछि झापाका कार्यक्रममा सहभागी हुन लागेको आज पहिलो पटक हो।

यो बीचमा स्वास्थ्यका कारणले प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रमको उपस्थितिलाई पातलो बनाएका थिए। कात्तिक १३ गते ग्राण्डी अस्पताल भर्ना भएदेखि उनी काठमाडौंबाहिरका कार्यक्रममा गएका थिएनन्। त्यो बेला प्रधानमन्त्री ओली २ दिन अस्पताल बसेका थिए। त्यसयता प्रधानमन्त्री ओलीले सातामा एक पटक मिर्गौलाको डायलासिस गर्दै आएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्