नेपालीलाई लिन नेपाल एयरलाइन्सको वाइडबडी चीनतर्फ उड्यो, यस्तो छ तयारी

Machchapuchchre

काठमाडौं । चीनको वुहानबाट नेपालीलाई लिन नेपाल एयरलाइन्सको वाइडबडी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चीनतर्फ उडेको छ । उक्त विमान नेपाली समयअनुसार आइतबार बिहान २:१५ मा नेपाल आइपुग्नेछ । बेइजिङस्थित नेपाली दूतावासले हुबेई प्रान्तका विभिन्न ठाउँमा रहेका नेपालीलाई वुहानमा जम्मा गर्ने प्रबन्ध मिलाइसकेको छ ।

‘हुबेई प्रान्तका विभिन्न ठाउँबाट पाँचवटा बसमा हाम्रा नागरिक शनिबार साँझसम्म वुहान पुर्‍याउँदै छौँ र वुहानमा रहेकालाई पनि सामेल गरेर स्वदेश फर्काउँछौँ,’ दूतावासका उपनियोग प्रमुख सुशीलकुमार लम्सालले भने । लम्सालका अनुसार चीन सरकारले नेपाली जहाज वुहान जान र फर्किन अनुमति दिइसकेको पनि उनले बताए ।

वुहान जाने स्वास्थ्यकर्मी, चालक दलका सदस्य, एम्बुलेन्सचालक, बसचालक, सरसफाइ कर्मचारीले तालिम पाइसकेका छन् । उनीहरूलाई शुक्रबार त्रिभुवन विमानस्थलमा डमीका रूपमा समेत तालिम दिइएको तालिमको नेतृत्व गरेका डा. हेमन्त ओझाले बताए । जहाजमा नेपाली सेनाका चार स्वास्थ्यकर्मी हुनेछन् ।

वुहानदेखि काठमाडौंसम्मको उडान अवधिमा चालक दलका सदस्य र स्वास्थ्यकर्मीले दिएको निर्देशन, सल्लाह र सुझाबको पूर्ण पालना गर्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । जहाजभित्र ज्वरो आउने, खोकी लाग्ने, श्वासप्रश्वासमा अप्ठ्यारो हुने भए जहाज दलका सदस्य वा स्वास्थ्य टोली सदस्यलाई जानकारी गराउन भनेको छ । शंकास्पद व्यक्तिलाई स्वास्थ्यकर्मीले विमानको तोकिएको अन्तिम सिट (आइसोलेसनमा) सार्नेछन् । जहाज दलका सदस्य तथा स्वास्थ्य टोली सदस्यले नियमित रूपमा अनुगमन तथा निरीक्षण गरिरहनेछन् । काठमाडौं विमानस्थलमा जहाजबाट उत्रनुअघि सबैले दिसा तथा पिसाब गरेर निस्कनुपर्नेछ । शंकास्पदलाई जहाजको पछाडिकै ढोकाबाट बाहिर निकालिन्छ । संक्रमण नभएकालाई भने अघिल्लो ढोकाबाट निकालिन्छ ।

जहाजबाट उत्रिँदा प्रत्येक व्यक्तिलाई एक मिटरको दूरीमा राखिनेछ । जहाजबाट झरेपछि स्वास्थ्य परीक्षण हुनेछ । यसका लागि त्रिभुवन विमानस्थलमै पाँचवटा हेल्थ डेस्क राखिएको छ । त्यहाँ तालिमप्राप्त मेडिकल अफिसर तथा नर्स र प्यारामेडिक्स रहनेछन् । उनीहरूले व्यक्तिगत सुरक्षा साधन ‘फिजिकल प्रोटेक्टिभ इक्युपमेन्ट’ लगाएका हुन्छन् । हेल्थ डेस्कका स्वास्थ्यकर्मीले यात्रुलाई छुने छैनन् ।

संक्रामक रोगको आशंका गरिएका व्यक्तिलाई विमानस्थलबाटै शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, पाटन अस्पताल र सशस्त्र प्रहरी अस्पतालमध्ये एउटाको आइसोलेसन वार्डमा उपचारका लागि लगिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसका लागि तीनवटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । अन्यलाई पाँचवटा बसमा राखेर क्वारेन्टाइनसम्म पुर्‍याइनेछ । बाटोमा बस कहीँ रोकिने छैन । उनीहरूलाई १४ देखि १७ दिनसम्म क्वारेन्टाइनमा राखिनेछ । आवश्यक परे अझै बढी समय राख्न सक्ने जानकारी स्वास्थ्य मन्त्रालयले विद्यार्थी र अभिभावकलाई गराइसकेको छ । मन्त्रालयका सहप्रवक्ता सागर दाहालले स्वास्थ्य परीक्षण तथा क्वारेन्टाइनको बसाइलाई सकेसम्म सहज, व्यवस्थित र स्वस्थ बनाउन सक्दो प्रयास गरिएको बताए ।

क्वारेन्टाइनमा लगभग लगभग ६० कोठा व्यवस्थापन गरिएको छ । उचित दूरीको फरकमा एकदेखि तीनजनासम्म राख्ने गरी व्यवस्था गरिएको छ । ६ जनाले एउटा शौचालय प्रयोग गर्नुपर्नेछ । क्वारेन्टाइनमा रहँदा खाना, पानी, स्वास्थ्य उपचार सबै व्यवस्था छ । स्वास्थ्य टोली आवश्यकताअनुसार चौबिसै घन्टा सेवामा रहनेछन् । सबैको दिनमा दुईपटकसम्म तामक्रम जाँच हुनेछ । मन्त्रालयका अनुसार सबैको प्रारम्भिक जाँच क्वारेन्टाइनमा पुगेको २४ घन्टाभित्र र अर्को जाँच १४ दिनमा गरिनेछ । क्वारेन्टाइनमा अभिभावकसँग भेटघाट गर्न पाइने छैन ।

क्वारेन्टाइनका लागि भाइरस परीक्षण गर्ने नेपाली संस्था सेन्टर फर डायनामिक नेपालले ५० थान मास्क उपलब्ध गराएको छ । साथै ५० जोर व्यक्तिगत सुरक्षा साधन (फिजिकल प्रोटेक्टिभ इक्युपमेन्ट) पनि उपलब्ध गराएको छ । कोरोना भाइरसको जीवाणु परीक्षणका लागि दुई सय किटसमेत दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्