पूर्व सचिवकी पत्नीको हत्यामा कामदारकै ‘संलग्नता, डोरीले घाँटी कसेर पिर्काले हिर्काएको दृश सिसिटिभी फुटेजमा देखियाे

Machchapuchchre

काठमाडौं । नेपाल सरकारका सेवा निवृत्त सचिव अर्जुन कार्कीकी श्रीमती मुना अधिकारी (कार्की)को हत्यामा कामदार विजय चौधरी संलग्न रहेको देखिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट कार्कीको घरमा काम गर्ने विजयले डोरीले घाँटीमा कसी पिर्काले हिकाएर मुनाको हत्या गरेको देखिएको हो ।

घटनाको अनुसन्धानमा जुटेको प्रहरीले अहिले पूर्व सचिव कार्कीको घरको सीसीटीभी फुटेजको अध्ययन गरिरहेको छ । सीसीटीभी फुटेजमा कामदार चौधरीले मुनामाथि आक्रमण गरेको देखिएको छ ।

‘सीसीटीभी फुटेज हेर्दा दुवै जनाबीच केही कुरामा बोलाबोल भएको जस्तो देखिन्छ । त्यसपछि कामदार (विजय)ले हातमा रहेको डोरीले मृतक (मुना)को घाँटीमा कसेर भूइँमा लडाउँछन् । केही परसम्म डोरीले घाँटीमा बाँधेर डोर्‍याउँछन् । त्यसपछि विजयले मुनामाथि लगातारजसो पिर्काले प्रहार गरेको देखिन्छ,’ घटनाको अनुसन्धानमा संलग्न महानगरीय अपराध महाशाखाका एक अधिकारीले भने ।

अपराध महाशाखाका अधिकारीका अनुसार उक्त दृश्य घरको भान्सा छिर्ने ढोका छेउमा जडान गरिएको सीसी क्यामेरामा कैद भएको थियो । ‘यो घटना एउटा झगडाबाट शुरु भएको देखिन्छ । तर, उनीहरुबीच झगडा किन भयो भन्ने विषय अहिले नै खुल्न सकेको छैन,’ अपराध महाशाखाका ती अधिकारी भन्छन् ।

प्रहरीका अनुसार मुनालाई बेहोस् अवस्थामा फेला पारिएको ठाउँमा एउटा प्लास्टिकको पिर्का समेत फेला परेको छ । उक्त पिर्काको केही भाग भाँचिएको पनि छ । ‘पिर्का र डोरीमा रगत लागेको छ । मर्डर विपन्स (मार्न प्रयोग भएको हतियार)का रुपमा प्लास्टिकको पिर्का र एउटा डोरी भेटिएको छ,’ अपराध महाशाखाका ती अधिकारीले भने, ‘अन्य विषयमा हामी अनुसन्धान गरिरहेका छौं ।’

पूर्व कार्कीकी श्रीमती मुना सोमबार बिहान सानेपास्थित आफ्नै निवासमा गम्भीर घाइते अवस्थामा फेला परेकी थिइन् । आक्रमणबाट रकताम्य अवस्थामा फेला परेकी कार्कीलाई उपचारका लागि ललितपुरको स्टार अस्पतालमा लगिए पनि चिकित्सकहरुले उपचारकै क्रममा मृत्यु भएको घोषणा गरेका थिए ।

सोमबार बिहानै उठेर पूजाका लागि पशुपतिनाथ मन्दिर गएका पूर्व सचिव अर्जुन कार्कीले घर पुग्दा श्रीमती मुनालाई रकताम्य अवस्थामा फेला पारेका थिए । घरमा काम गर्ने दाङ स्थायी घर भएका विजय चौधरी पनि मृत अवस्थामा फेला परेका थिए । कामदार चौधरीको शव झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्