पर्वतीय पर्यटनबाट आर्थिक समृद्धि हासिल गर्न सकिन्छ -प्रचण्ड

Machchapuchchre

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा पर्वतीय पर्यटनका माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन् ।

नेपाल पर्वतारोहण सङ्घद्वारा अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय परिसरमा आयोजित विश्व शान्ति पूजाको समापन एवम् सङ्घको १७औँ वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले पर्वतीय पर्यटनको उपयोग गर्दै देशमा आर्थिक समृद्धि एवम् विकास गर्न सकिने प्रचुर सम्भावना रहेको बताए।

अध्यक्ष दाहालले पोखरास्थित सङ्ग्रहालयमा नेपालका हिमाली क्षेत्रमा रहने जातजातिका संस्कृति, परम्परा एवम् सभ्यतालाई प्रस्तुत गरिएको उल्लेख गर्दै यसको अवलोकनसँगै पर्वतीय पर्यटन, भूगोल आदिको अध्ययन गर्न चाहने जो कोही लाभान्वित हुने बताए। “भूगर्भशास्त्रीय अध्ययन गर्न चाहनेका लागि पनि सङ्ग्रहालय महत्वपूर्ण बनेको छ”, उनले भने, “यसको व्यवस्थित विकासका लागि म आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”

उल्लासका साथ भ्रमण वर्ष २०२० मनाइरहेको प्रसङ्ग उल्लेख गर्दै उहाँले यसको शुरुआतमा नै चीनमा देखिएको कोरोना भाइरसको हल्लाका कारण यहाँको पर्यटनमा सामान्य प्रभाव परे पनि यो चाँडै नै नियन्त्रणमा आउने विश्वास व्यक्त गरे। अध्यक्ष दाहालले विश्वकै उत्कृष्ट पर्यटकीयस्थल पोखरामा सङ्ग्रहालय स्थापना भएको बताउँदै यो विश्वभरिका पर्यटकका लागि अवलोकन गर्न आउने स्थलका रुपमा विकास हुनुपर्ने आवश्यकता औँल्याए।

पोखरा विमानस्थल सम्पन्न हुने चरणमा रहेको प्रसङ्ग उल्लेख गर्दै उनले यहाँका जनताको आर्थिक विकास एवम् समृद्धिका लागि बृहत् चक्रपथ निर्माण गर्नुपर्नेमा जोड दिए। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालयलाई व्यवस्थित एवम् प्रभावकारी रुपमा सञ्चालन गर्न सुझाव दिँदै यसमा प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोग हुने प्रतिबद्धता व्यक्त गरे।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्