वैकल्पिक शक्ति निर्माण गर्ने भन्दै एकता प्रक्रियामा रहेका समाजवादी–राजपाबीच अविश्वास

Machchapuchchre

काठमाडौँ । वैकल्पिक शक्ति निर्माण गर्ने भन्दै एकता प्रक्रियामा रहेका समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच अविश्वास बढेको छ । समाजवादी सरकारबाट बाहिरिएसँगै राजपाले बढाएको सत्ता निकटताले अविश्वास बढाएको हो । गहिरो अविश्वासबीच पनि दुवै दलका नेताहरूले एकताबाट वैकल्पिक शक्ति निर्माण हुने दाबी गरेका छन् । कुलचन्द्र न्यौपानेले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।

राजपा नेता राजेन्द्र महतोले राष्ट्रिय सभा चुनावका लागि नेकपासँग भएको गठबन्धनको औचित्य सकिइसकेको र आफूहरू एकीकरण अभियानमै रहेको बताए । ‘हामी एकीकरणकै अभियानमा छौं,’ उनले भने, ‘नेकपासँग भएको गठबन्धन राष्ट्रिय सभाको निर्वाचनसँगै अन्त्य भएको छ, सरकारमा जाने कुनै योजना छैन ।’

आगामी निर्वाचनअघि नेकपा र कांग्रेसलाई चुनौती दिने गरी सशक्त शक्ति निर्माण गर्ने बताए । उनी नेपालजस्तो मुलुकमा एउटै दलको बहुमत या दुई तिहाइको सरकारले राजनीतिक स्थायित्व र विकास दुवै दिन नसक्ने दाबी गर्दै उनले वैकल्पिक शक्तिको आवश्यकतामा जोड दिए ।

समाजवादीका अध्यक्ष उपेन्द्र यादव भने राजपाप्रति विश्वस्त देखिँदैनन् । राष्ट्रिय सभा निर्वाचनमा नेकपा र राजपाबीच गठबन्धन बनेदेखि उनी सशंकित छन् । उपसभामुख लिने, संघीय सरकारमा जाने र प्रदेश २ को सरकारमा समेत नेकपासँग गठबन्धन गर्नेसम्मको तयारी रहेको भन्दै एकताका विषयमा यादव हच्किएका हुन् ।

महतोले यादवको आशंका ‘वाहियात’ रहेको बताए । सरकारमा सहभागिता र पार्टी एकीकरणमध्ये कुनलाई प्राथमिकता दिने भन्नेमा राजपाभित्रै एकमत छैन । अध्यक्षमण्डलका संयोजक महेन्द्र राय यादव, सदस्यहरू महन्थ ठाकुर र महतोले एकीकरणमा जोड दिएका छन् । अध्यक्षमण्डलमा रहेका ६ मध्ये बाँकी तीन सदस्य शरदसिंह भण्डारी, राजकिशोर यादव र अनिल झाले एकीकरणभन्दा सरकारलाई प्राथमिकता दिएका छन् ।

तत्कालीन संघीय समाजवादी र नयाँ शक्ति पार्टीबीच एकीकरण हुनुअघि तीन दलबीचै एकीकरण गर्ने प्रयास भएको थियो । सरकार छाड्नुपर्ने ‘सर्त’ समाजवादीले नमानेको कारण देखाउँदै राजपा त्यतिबेला एकीकरणबाट पछि हट्यो । संघीय समाजवादी र नयाँ शक्तिबीच गत वैशाख २३ मा एकीकरण भयो । त्यसपछि समाजवादी र राजपाबीच विभिन्न चरणमा अनौपचारिक वार्ता भए । नेताहरूको व्यवस्थापनबाहेक पार्टीको नाम, चुनाव चिह्न र वैचारिक मुद्दामा सहमति जुटिसकेको थियो तर सरकारबाट बाहिरिनुपर्ने राजपाको ‘सर्त’ ले एकता रोकिँदै आयो ।

समाजवादी पुस ८ मा सरकारबाट बाहिरिएपछि भने एकीकरण हुने/नहुने भन्नेमा राजपाको खुट्टामा बल पुगेको समाजवादीका महासचिव रामसायप्रसाद यादव बताउँछन् । ‘राजपाले सरकार छाड्नुपर्ने सर्त राखेको थियो । हामीले पूरा गर्‍यौं, अब उहाँहरू कति इमानदार हुनुहुन्छ हेर्नुछ,’ उनले भने, ‘बल राजपाको खुट्टामा छ, गोल गर्ने/नगर्ने उसैको कुरा हो, हामी प्रतीक्षामा छौं ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्