कोरोना भाइरसले चीनबाहिर पनि लियो ज्यान, चीनमा मृत्यु हुनेको संख्या तीन सय नाघ्यो

Machchapuchchre

काठमाडाैं । नोवेल कोरोनाभाइरसको संक्रमणबाट चीनबाहिर पनि एक जनाको ज्यान गएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार फिलिपिन्सको मनिलामा कोरोनाभाइरस लागेका एक जना पुरूषको शनिबार मृत्यु भएको हो। ती पुरूष वुहानबाट फिलिपिन्स फर्किएका थिए।

फिलिपिन्समा अर्का एक जनालाई पनि यो भाइरस देखिएको छ। भाइरसको संक्रमण रोक्न फिलिपिन्सले चीन, हङकङ र मकाउका नागरिकलाई आफ्नो देशमा भ्रमण गर्न रोक लगाएको छ। गत डिसेम्बरमा हुवेई प्रान्तको वुहानबाट फैलिएको कोरोनाभाइरस अहिले संसारका विभिन्न देशमा फैलिएको छ।

कमजोर स्वास्थ्य प्रणाली भएका देशमा महामारी फैलिने सक्ने ठानेर विश्व स्वास्थ्य संगठनले गत बिहीबार विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको छ। यता चीनमा उक्त भाइरसबाट ज्यान गुमाउनेको संख्या तीन सय नाघेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आइतबार बिहानसम्म कोरोनाभाइरसले ३ सय ४ जना चिनियाँको ज्यान लिएको छ। १२ हजारभन्दा बढी चिनियाँमा यसको संक्रमण देखिएको छ।

यसैबीच कोरोना भाइरसको बढ्दो संक्रमणमाझ विद्यार्थीलाई घर फर्काउन बेइजिङस्थित नेपाली दूतावासले पहल थालेको पहिलो दिनमा ३५ जना विद्यार्थीले घर फर्कन आवेदन भरेका छन् । हङकङको बजारमा मास्क लगाएका सर्वसाधारण । नोवल कोरोना भाइरसको संक्रमण फैलिएसँगै यहाँ मास्कका प्रयोगकर्ता बढेका छन् ।

नेपाल सरकारको निर्देशनमा दूतावासले शनिबार बिहान सूचना प्रकाशित गर्दै चीनको हुबेई प्रान्तअन्तर्गतका विद्यार्थी घर फर्काउन आइतबार बिहानभित्र तोकिएको आवेदन भर्नुपर्ने प्रबन्ध तय भएको थियो । दूतावासका उपनियोग प्रमुख सुशील लम्सालका अनुसार फोन र विच्याटमार्फत विद्यार्थीबारेको सूचना आइरहे पनि घर फर्कन चाहेर फर्म भरेर पठाउने विद्यार्थीको संख्या त्यति धेरै भएको छैन ।

हुबेई प्रान्तका वुहान, इनसी र सियानसहितका चार सहरमा १ सय ८८ विद्यार्थी रहेको पछिल्लो जानकारी आएको र सबैजसो भाइरस संक्रमणबाट सुरक्षित रहेको जानकारी दूतावासले पाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्