Artharajniti ~ प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रहरीका इन्स्पेक्टरहरूको दीक्षान्त समारोहमा सहभागी भएका छन् । प्रधानमन्त्री भएपछि उनी पहिलो पटक प्रहरीको कार्यक्रममा सहभागी भएका हुन् । महाराजगञ्ज स्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित ११८४ औँ समूहका निरीक्षकहरूको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जिम्मेवारी निभाउँदा अनुचित प्रभावमा नपर्न आग्रह गरे । सोमबार आयोजित समारोहलाई सम्बोधन गर्दै शाहले भने, ‘भेदभाव नगरी प्रहरीले कुशलतापूर्वक काम गर्नेछ भन्ने विश्वास नागरिकमा अनुभूत हुने गरी काम गर्न आग्रह गर्दछु ।’ आफ्ना छोराछोरीलाई प्रहरीजस्तो चुनौतीपूर्ण पेसामा आबद्ध गराउने अभिभावक र परिवार प्रति आभार व्यक्त गर्दै प्रधानमन्त्री शाहले पेसागत सफलताको पहिलो मानक इमानदारिता र नैतिकता भएको बताए । उनले भने, ‘जिम्मेवारीमा जबाफदेहिता महत्त्वपूर्ण हो ।’ आधारभूत तालिम पुरा गरेर कार्यक्षेत्र प्रवेश गर्न लागेका इन्स्पेक्टरहरूलाई शाहले कुनै पनि दबाब र प्रभावमा नपर्न आग्रह गरेका छन् । उनले भने, ‘मलाई विश्वास छ, यहाँहरू कुनै दबाब र प्रभावमा पर्नुहुनेछैन ।’ ‘संगठनको प्रोटोकल विपरीतको काममा संलग्न हुनुहुनेछैन भन्ने विश्वास छ’ उनले भने, ‘समयको बदलावसँगै अपराध प्रवृत्त बदलिएको छ ।’ परिणाममुखी अनुसन्धानको लागी प्राविधिकको प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याउँदै शाहले भने, ‘अनुसन्धानमा आवश्यक स्रोत साधन दिलाउन सरकार तत्पर छ ।’ प्रतिष्ठानका निर्देशक डीआईजी दिनेश आचार्यका अनुसार प्रहरी निरीक्षक ११८४ औँ समूहमा ७९ जना दीक्षित भएका छन् । ८ जना महिला र ७१ पुरुष रहेको सो समूहले ३४० दिनसम्म चलेको कठिन तालिम पुरा गरेका हुन् । समारोहमा मुख्य सचिव गोविन्द बहादुर कार्की, आईजीपी दान बहादुर कार्की र सशस्त्र प्रहरीका महानिरीक्षक नारायदत्त पौडेल लगायतका अधिकारीहरू उपस्थित थिए ।
प्रधानमन्त्री भएपछि पहिलो पटक प्रहरीको कार्यक्रममा बालेन शाह



