Artharajniti ~ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा एवं पूर्वमन्त्री डा. आरजु राणाका छोरा जयवीरलाई सात दिनभित्र उपस्थित हुन पत्र काटेको छ । विभागका अनुसन्धान अधिकृतहरूको टोलीले सोमबार बूढानीलकण्ठस्थित देउवा निवासको भग्नावशेषमा पुगेर सात दिन भित्र उपस्थित हुनु भनी म्यादको सूचना टाँसेको हो । त्यसको भोलिपल्ट मंगलबार विभागले गोरखापत्र दैनिकमा त्यही आशयको सूचना जारी गरेको हो । ‘बूढालीलकण्ठस्थित निवासमा टाँसेको म्याद बुझ्ने मान्छे कोही भएनन्, देउवाको सचिवालयमा रहेकाहरू पनि सम्पर्कमा आउन चाहेनन्,’ विभागसम्बद्ध स्रोतले भन्यो, ‘त्यसैले हामीले थप प्रक्रियाका लागि राष्ट्रिय दैनिकमा नै सूचना निकालेर सम्पर्कमा आउनु भनेका हौं ।’ गोरखापत्रमा जारी भएको सूचनामा, सम्पत्ति शुद्धीकरणको कसुरको अनुसन्धानको सिलसिलामा जयवीरमाथि अनुसन्धान गर्नुपर्ने उल्लेख छ । विभागले ‘अनुसन्धानको सिलसिलामा तपाईंसँग केही कुरा बुझ्नुपर्ने भएको,’ भन्दै सूचना जारी गरेको हो ।
सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ४१ अनुसार, सम्पर्कविहीन व्यक्तिको हकमा बढीमा ३० दिनसम्मको म्याद दिई सूचना गर्न पाउने अधिकार अनुसन्धान अधिकृतहरूलाई छ । विभागका अनुसन्धान अधिकृतले एक साताको म्याद दिएका हुन् ।‘देउवा परिवारका सदस्यहरूले एक वर्षको अवधिमा करिब ७३ रोपनीभन्दा बढी जग्गा खरिद गरेको भेटिएको छ, त्यसको औचित्य पुष्टि हुने सम्भावना निकै कम छ,’ विभागसम्बद्ध स्रोत भन्छ, ‘उनको सम्पत्तिमा केही अस्वाभाविक बढोत्तरी भएको रहेछ । विभिन्न आर्थिक अनियमितता र विवादमा समेत नाम जोडिएकाले अनुसन्धान अघि बढेको हो ।’ पासपोर्टको ठेक्कामा सिद्धार्थ थापा र जयवीर देउवा लगायतको भूमिका रहेको भनी अख्तियार र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी समेत परेको थियो ।



