” विमान नथपेसम्म पोखरा र गौतमबुद्ध विमानस्थल चलाउन सम्भव छैन ” : क्यान

Machchapuchchre Bank

Artharajniti  ~  नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक मुकेश डंगोलले विमान नथपेसम्म पोखरा र गौतमबुद्ध अन्ताराष्ट्रिय विमानस्थल नियमित रूपमा चलाउन नसकिने बताएका छन्। बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्ताराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नेपालका तीनवटै अन्ताराष्ट्रिय विमानस्थललाई दिगो रूपमा सञ्चालन गर्न स्वदेशी वायुसेवा कम्पनीहरूका लागि  जहाज थप्न विशेष सहुलियत प्याकेज ल्याउन सरकारसमक्ष आग्रह गरे। उनका अनुसार नेपाल वायुसेवा निगमसँग हाल दुईवटा वाइडबडी र दुईवटा न्यारोबडी तथा हिमालय एयरलाइन्ससँग चारवटा न्यारोबडी गरी अन्ताराष्ट्रिय उडानका लागि कुल आठवटा जहाज मात्रै सञ्चालनमा छन्। अन्य निजी वायुसेवा कम्पनीसँग रहेका साना विमानले क्षेत्रीय उडान मात्रै गर्नसक्ने उनको भनाइ छ। उनले सबै विमानस्थल चलाउन विदेशी कम्पनीहरूलाई हारगुहार गर्नुभन्दा स्वदेशी वायुसेवा कम्पनीलाई थप जहाज ल्याउने वातावरण सरकारले बनाउनुपर्नेमा जोड दिए। महानिर्देशक डंगोलले जहाज लिजमा ल्याउँदा लाग्ने उच्च लिज कर र खरिद गर्दा अग्रिम रूपमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) तिर्नुपर्ने व्यवस्थाले वायुसेवा कम्पनीहरूलाई निरुत्साहित गरिरहेको बताए। उनले पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालन गर्न विदेशी वायुसेवामाथि निर्भर हुनुभन्दा स्वदेशी वायुसेवा कम्पनीलाई सुदृढ बनाउन विशेष नीति र कर सहुलियतसहितको प्याकेज ल्याउनुपर्नेमा जोड दिए।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्