Artharajniti ~ भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन उद्घाटन सत्र सकिएसँगै महाधिवेशन प्रतिनिधिहरूमा नयाँ नेतृत्वबारे चर्चा हुन थालेको छ । महाधिवेशनको दोस्रो दिन बन्दसत्रमा विभिन्न राजनीतिक, सांगठानिक र विधानसम्बन्धी प्रस्ताव पारित गरेर निर्वाचन प्रक्रिया सुरु गर्ने भनिए पनि बन्द सत्र सुरु हुन ढिलाइ हुँदा विभिन्न प्रतिवेदन र प्रस्तावहरू हलमा पेस हुन सकेका छैनन् । महाधिवेशन प्रतिनिधि कार्डमा रहेको त्रुटि सच्याउन समय लागेका कारण तथा मधेस प्रदेशको प्रतिनिधि विवादका कारण निर्धारित समयमा बन्दसत्र सुरु हुन नसकेको नेताहरूले बताउने गरेका छन् । बन्दसत्र सुरु हुन ढिलाइ भएपछि महाधिवेशन स्थलमा केही प्रतिनिधि तथा नेताहरू अनौपचारिक ढंगले केन्द्रीय सदस्य तथा पदाधिकारीका लागि मत माग्न व्यस्त देखिएका छन् । १९ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय समिति चयनका लागि हुने निर्वाचनमा ९९ केन्द्रीय सदस्यका लागि निर्वाचन हुँदैछ ।
त्यसमध्ये सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन्द्र (बालेन) शाह निर्विरोध हुने भए पनि अन्य पदहरुमा निर्वाचन हुने देखिएको छ । पदाधिकारी र केन्द्रीय सदस्यको सिमित पदमा आकांक्षी धेरै भएकाले कुन कुन पदमा निर्वाचन हुन्छ भन्ने अझै एकिन भएको छैन । यद्यपि शीर्ष नेताहरूले सहमतिमै केन्द्रीय समिति चयन गर्ने प्रयास गरिरहेको बताइएको छ । तर, उनीहरूको प्रयासबारे केही जानकारी दिएको छैन । रास्वपा नेतृत्वले पार्टी एकतालाई मध्यनजर गर्दै सहमतिबाट नेतृत्व चयन गर्ने विषयलाई प्राथमिकता दिएकाले सहमतिको प्रयास भइरहेको बताइएको छ । विवेकशील साझा, बालेन्द्र समूह, थारुवान/थरुहट समूह, जेनजी समूह लगायत समूह मिसिएपछि विशाल पार्टी बनेको रास्वपाले एकता प्रक्रियामा जोडिएका समूहलाई व्यवस्थापन गर्नुपर्ने भएकाले सकभर सहमतिबाटै नेतृत्व छनोट गर्नुपर्नेमा सभापति लामिछाने र अर्का नेता शाह रहेका छन् । रास्वपाले १९ सदस्यीय पदाधिकारीमा सभापति १, वरिष्ठ नेता १, उपसभापति ३, महामन्त्री २, सहमहामन्त्री ५, प्रवक्ता १, सहप्रवक्ता ३, कोषाध्यक्ष र सहकोषाध्यक्ष एक/एक रहने व्यवस्था छ । सचिवालय ३३ सदस्यीय हुनेछ । सभापतिले ५१ जना मनोनीत गर्ने व्यवस्था विधानमा छ । केन्द्रीय समितिका लागि १०० जना निर्वाचनका माध्यमबाट आउने व्यवस्था छ । १०० जनामा ६४ जनाको निर्वाचन हुनेछ भने तीमध्ये ३५ जना प्रदेशबाट आउँछ्न् ।



