Artharajniti ~ प्रतिनिधि सभा बैठकमा दुई मन्त्रीले सभामुखको अपमान गरेको भन्दै प्रतिनिधि सभा बैठकमा प्रश्न उठेको छ । प्रतिनिधि सभाको मंगलबार बसेको दोस्रो बैठकको कारबाही सुरु गर्न सभामुख बैठक कक्षमा प्रवेश गर्दा दुई मन्त्रीले अपमान गर्ने काम गरेको भन्दै प्रतिपक्षी दल नेकपा एमालेका ऐन महरले प्रश्न उठाएका हुन् । सभामुख बैठक कक्षमा प्रवेश गर्दा सबै सांसदहरुले उठेर सभामुखको सम्मान गर्नुपर्ने प्रतिनिधि सभा नियमावली २०८३ को नियम २० को खण्ड ‘क’ मा उल्लेख छ । तर, दुई मन्त्रीहरूले सम्मान नगरेको भन्दै उनले नियमापत्ति गरे । बैठकमा सहभागी भएका अर्थमन्त्री स्वर्णिम वाग्ले र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आफ्नो आसनमै बसिरहेर सभामुखलाई सम्मान प्रकट नगरेका हुन् । ‘सदनको गरिमा कायम राख्ने हामी सबैको अनिवार्य जिम्मेवारी र दायित्व हो’, महरले भने, ‘मर्यादा पालना गर्नेमा सबै जिम्मेवार बन्नुपर्छ ।’
दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’



