Artharajniti ~ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाह उपस्थित नभए संसद्मा विरोध जारी रहने बताएको छ । पार्टीका सचेतक निश्कल राईले प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको उपस्थिति हुनुपर्ने र नभए विरोध जारी रहने बताएका हुन् । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराउन भूमिका खेल्नुपर्ने बताउँदै उनले यस्तो बताएका हुन् । ‘फेरि पनि आग्रह गर्छु, तपाईं हाम्रो अभिभावक हो । संसद्को संरक्षक हो । यस विषयमा हजुर गम्भीर बन्नुपर्छ,’ राईले भने, ‘यदी प्रधानमन्त्रीज्यू उपस्थित हुनुभएन भने हाम्रो विरोध जारी रहनेछ ।’ उनले प्रधानमन्त्री संसद्मा उपस्थित नहुनु उदासिनता होइन र ? भन्दै प्रश्न गरे । ‘आज परिस्थिति यस्तो बनेको छ कि यो गुरुकुल र विश्वविद्यालयलाई बंक गर्न थाल्नुभएको छ । सदनजस्तो गरिमामय संस्थालाई बेवास्ता गर्नु दुखद मात्रै होइन संसदीय व्यवस्थाप्रतिको उदासिनता होइन र ?,’ राईले प्रश्न गरे, ‘अझ दुखको कुरा सत्तापक्षका सदस्यहरू यसलाई सामान्य बनाउने प्रयत्न गरिरहनुभएको छ ।’
कांग्रेसले भन्यो– ” प्रधानमन्त्री उपस्थित नभए संसद्मा विरोध जारी रहन्छ “



