नेपाल वायुसेवा संचालक संघका एक सदस्यका अनुसार भाडा समायोजनपछि यात्रु संख्या घट्दा बुद्ध, यती, श्री एयरलाइन्सले करिब १० करोडभन्दा बढी नोक्सानी ब्योहोरिसकेका छन्। ‘जहाज संख्या, जनशक्ति, जहाजको प्रकृतिका आधारमा यात्रु नभएपछि १० करोडभन्दा माथि नोक्सानी ब्योहोरिसकेका छन्,’ उनले भने, ‘बुद्ध र यतीको जहाज एटीआर भएकाले इन्धनको खपत एउटै हो। तर, पाइलट, प्राविधिक र अन्य जनशक्ति बुद्धलाई बढी व्ययभार पर्छ। इन्धन धेरै खाने भएकाले श्रीलाई ठूलो धक्का लाग्छ।’ स्रोतका अनुसार यती एयरलाइन्सले करिब १२ करोड, श्री एयरलाइन्सले १६ करोड र बुद्धले २० करोडको हाराहारीमा नोक्सानी ब्योहोरिसकेका छन्। ती सदस्यका अनुसार अहिले पोखराबाहेक अरु उडानमा हवाई कम्पनीलाई नाफा छैन। ‘अप्रिल महिना पर्यटकीय सिजन भएकाले पर्यटक आएका छन्। पर्यटकलाई डलर फेयरमा हवाई भाडा निर्धारण हुने भएकाले पोखराको गन्तव्य अप्रिल महिनामा नाफामा गएको हो,’ उनले भने, ‘पर्यटकीय सिजन सकिएपछि त्यो गन्तब्यमा पनि नोक्सानी हुन्छ।’ हवाई मूल्य बढेसँगै यात्रुहरु हवाई यात्रा कम गरिरहेका छन्। पर्यटकीय सिजनमा नै पर्यटक नआउँदा पनि कम यात्रु भएका हुन्,’ उनले भने,‘ पहिलाको जस्तो यात्रु यो सिजनमा छैन्।’
इन्धनको मूल्य अकासिँदा हवाई कम्पनी संकटमा



