” कांग्रेस पानीबाट निकालेको माछाजस्तै भट्याक भट्याक गर्दैछ ” : अध्यक्ष ओली

Machchapuchchre

Artharajniti  ~ पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस सम्हालिनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै ओलीले यस्तो बताएका हुन् । ‘कांग्रेसले आफूलाई समालेर लोकतान्त्रिक अभ्यास, मूल्य, मान्यतामा आउनु पर्छ,’ ओलीले भने । उनले कांग्रेस नमिलेको खण्डमा पनि सरकारले पेलेरै आगामी आर्थिक वर्षको बजेट ल्याउन सक्ने सङ्केत गरे । ‘अहिलेसम्म कसरी बजेट पारित भएको छ ? घेराउ भएको छैन ? हामीले १२ पटक घेराउ गर्दागर्दै नारा लाउँदा लाउँदै पास भएको देख्नु भएको छैन ?,’ सञ्चारकर्मीले अब बजेट कसरी ल्याउनु हुन्छ भनेर सोधेको प्रश्नमा उनले जवाफ दिँदै भने, ‘त्यसबेला त प्रतिपक्षले यसरी हल्ला गर्नु नै हुँदैन भन्नुहुन्थ्यो नि त ।’आफूहरूले कांग्रेसलाई पेलेर जाने नभनेको तर गत जेठ ५ गते बेलुकाको सहमति ६ गते कांग्रेसले नै उल्ट्याएर अहिलेको परिस्थिति बनेको उनको भनाइ छ । ‘पेलेर जाने होइन । अघिल्ला दिन ५ गते बेलुका सहमति हुन्छ ६ गते तोड्छ । यो कसले तोडेको ? सत्ता पक्षले अर्घेल्याई गरेको हो र ? त्यस्तो इस्यु भए अदालत गए भयो । कांग्रेसले आफूले जे भन्यो त्यही हुनुपर्छ भन्छ । अनि कांग्रेसले आफ्नो तर्फ आफ्नो मतियार भएर आफ्ना निम्ति काम गरेन भने जसलाई पनि मुख छाड्छ, गाली गर्छ, बेइज्जत गर्छ । इज्जत कसैको राख्दैन,’ ओलीले भने ।’उनले अहिलेको देशमा धेरै समस्याहरू देखिएको अवस्थामा एकताबद्ध हुनुपर्नेमा कांग्रेसले सत्ताबाहेक केही कुरा नदेखेको आरोप लगाए । ‘अहिले देशमा धेरै जटिल समस्याहरू छन् । साम्प्रदायिकताको कुरा छ, प्रतिगामी शक्तिहरू हौसिएका छन् । बाह्य हस्तक्षेप बढ्दो छ । यस्ता कुरालाई ध्यानमा राखेर राष्ट्रलाई एक ठाउँमा उभ्याउने, आधारभूत कुरालाई एक ठाउँमा राखेर स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ । त्यो कुरा नेपाली कांग्रेसले बुझ्नै सकेन । उ नबुझी बुढो भयो,’ ओलीले भने, ‘एकछिन सरकारमा नहुँदा बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीमा एकछिन सत्तामा नहुँदा छटपटिनु र पानीबाट निकालेको बगरको माछा जस्तो भट्याक भट्याक गर्नु । माछाले त गाली, बेइज्जती गर्न जान्दैन । कांग्रेसले त यता भेटे यतै टोक्छ, उता भेट्यो उतै टोक्छ । जता फर्कियो जसलाई देख्यो त्यसैलाई टोक्छ । अचम्मको स्थिति बनाएको छ ।’

कांग्रेस र एमाले मिलेर अगाडि बढ्दा हुँदैन भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘संविधान बनाउन्जेल सहमति गरेर सुशील कोइराला प्रधानमन्त्री बन्नुभयो । त्यसपछि कांग्रेसले एमालेलाई दिने भनेको प्रधानमन्त्री दिएन । त्यसपछि कांग्रेसले राजनीतिमा बेइमानी सुरु गर्‍यो । चलिरहेको सहकार्य, संविधान जारी गरेपछि त्यसलाई स्थिरता र स्थायित्वमा लानका लागि संरचना थिएन, कानुन थिएन । त्यो सहकार्यको आवश्यकता थियो । त्यो हामीले पनि भन्यौँ । हामीले त्यो प्रयास गर्‍यौँ । कांग्रेसले त्यो बाटो नै छोड्यो ।’कांग्रेससँग मिल्न के का लागि भन्ने प्रश्न रहेको भन्दै उनले थप भने, ‘के का लागि मिल्ने, कसका लागि मिल्ने । स्थिरता भनेको सोचहरूको एकता हो, प्रतिबद्धताको एकता हो । लोकतान्त्रिक मूल्य, मान्यतामा अडिने कुरामा एकता हो । तर, कांग्रेसमा सत्ता, सत्ता र सत्ता भन्दा केहीमा ध्यान छैन । कांग्रेसले अरूको इज्जतमाथि बाहिर बाहिर घुमाई घुमाई हमला गर्छ । हामी बेलमा हुँदा हुँदै दर्जनौँ पटक प्रस्तावहरू पारित भएका छन् । तर, अहिले प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रमलाई पनि रोक्न लाग्नु भयो । त्यसकारण उहाँहरूमा सहमति, सहकार्य, स्थिरता विकास तिर रुचि छैन ।’ओलीले बेलुका रातभरि डेढ वर्षलाई प्रधानमन्त्री भन्ने त्यो नमानेपछि भोलिपल्ट बिहान भ्रष्टाचारी भन्ने तरिका ठिक नभएको भन्दै रास्वपाका रवि लामिछानेको बचाऊ गरे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्