उपेन्द्र यादवको दुवै रिट पेशीमा

Machchapuchchre

Artharajniti  ~  जनता समाजवादीका पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेका दुई थान रिट निवेदन सुनुवाइका लागि मंगलवार पेशीमा चढेको छ । यादवले दल विभाजन र विभाजनपछि बनेको दलका सांसदहरूलाई विश्वासको मत दिनबाट रोक्न दायर गरेका दुवै रिटको पेशी एकै दिन तोकिएको हो । दल विभाजन विरुद्ध दायर भएको रिटको पेशी न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र अब्दुल अजिज मुसलमानको इजलासमा तोकिएको छ। यसअघि इजलासले नै आजको मिति तोकेको थियो । यादवको उक्त मुद्दा २५ नम्बरमा पेशी रहेको छ। यो मुद्दाअघि न्यायाधीशहरूको एकल इजलास पनि तोकिएकाले हेर्न भ्याउने सम्भावना न्यून रहेको छ। दल विभाजनको निर्णय विरुद्ध यादवले निर्वाचन आयोग समेतलाई विपक्षी बनाई रिट दायर गरेका थिए । उक्त रिटमा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। त्यस्तै यादवले दायर गरेको दोस्रो रिट न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा पेशी रहेको छ । मुसलमानको एकल इजलासमा यादवको मुद्दा दोस्रो नम्बरमा रहेको छ। सोमबार हेर्न नभ्याउने हुँदै स्थगित भएकाले आजको पेशी प्राथमिकतामा परेको हो । यादवले आफ्नो दल विभाजन गराउँदै नयाँ पार्टी निर्माण गरेका अशोक राईसहितका  ७ जना सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन नमिल्ने भनी रिट दायर गरेका थिए । तर प्रधानमन्त्री प्रचण्डले सोमबार नै विश्वासको मत पाइसकेका छन् ।ती ७ जनाले समेत प्रधानमन्त्रीलाई विश्वासको मत दिएका थिए । यादवले जुन कार्यमा उनीहरूलाई रोक्न खोजेका थिए उक्त कार्य नै सम्पन्न भइसकेको अवस्थामा रिटको सुनुवाई हुन लागेको हो । सर्वोच्चले यसअघि दल दर्ता विरुद्ध दायर भएको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेकाले उनीहरूले कसैलाई पनि विश्वासको मत दिन नमिल्ने जिकिर यादवले गरेका थिए ।  सर्वोच्चले उक्त रिटमा अन्तरिम आदेश जारी गरेमा प्रधानमन्त्रीले लिएको विश्वासको मत के होला भन्ने अन्योल नै देखिन्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्