सीआइबी प्रमुख बज्राचार्यलाई जिम्मेवारीबाट हटाउने तयारी

Machchapuchchre

Artharajniti   ~   नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) प्रमुख एआइजी किरण बज्राचार्यलाई जिम्मेवारीबाट हटाउने तयारी गरिएको छ। सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको सिफारिसका आधारमा बज्राचार्यलाई हटाउने तयारी गरिएको हो। आयोगले गत साउन २ गते बरामद ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा केही आरोपीलाई जोगाएको भन्दै बज्राचार्यलाई विभागीय कारबाही गर्न सिफारिस गरिएको प्रतिवेदन बिहिबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बुझाएको थियो। त्यही सिफारिसका आधारमा एआइजी बज्राचार्यलाई जिम्मेवारीबाट हटाउने तयारी भएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ। सुन तस्करी प्रकरणका आरोपी जीवन चलाउनेको प्रमाण मेटाएको तथा अन्य आरोपीलाई अनुसन्धानको घेराबाट बाहिर राखेकाले पनि एआइजी बज्राचार्यलाई हटाउन लागिएको हो। सीआइबीले अनुसन्धान नगरेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा, पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, जीवन चलाउने लगायतविरुद्ध आयोगले मुद्दा चलाउन सिफारिस गरेको छ। त्यस्तै, अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारी सहितका केही कर्मचारीलाई विभागीय कारबाही गर्न सिफारिस गरिएको छ। सीआइबीबाट अनुसन्धानमा खटिएका एसपी सञ्जय सिंह थापा, डीएसपी दुर्गा दाहाल र रुगम कुँवरलाई पनि विभागीय कारबाही गर्ने सिफारिस गरिएको छ। उनीहरुमाथि पनि विभागीय कारबाहीको तयारी गरिएको छ। आयोगको सिफारिपछि गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गरेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्