मन्त्रीहरूको राजीनामालाई एजेण्डा बनाउँदै एमालेले आजको संसद् बैठक पनि अवरुद्ध गर्ने

Machchapuchchre
Artharajniti  ~   प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आज पनि प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्ने भएको छ। गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्य तथा जनसङ्‌ख्यामन्त्री मोहन बस्नेत र संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयनमन्त्री सुदन किरातीको राजीनामा मागेर एमालेले फागुन ६ गते यताका बैठक अवरुद्ध गर्दै आएको छ। फागुन ६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितपुरको बालकुमारी घटनामा दोषि देखिएका मन्त्रीमाथि कारवाही हुने आश्वासन दिएका थिए। बस्नेतले अख्तियारले टेरामक्स प्रकरणमा बयान लिएको, किरातीले कानुन विपरित लुम्बिनी क्षेत्रलाई ९९ वर्ष सम्मका लागि भाडामा दिन सम्झौता गरेको तथा गृहमन्त्री श्रेष्ठ पनि बालकुमारी घटनामा जोडिएको विषयमा एमालेले मन्त्रीहरूको राजीनामा मागिरहेको छ। मन्त्रीहरूले राजीनामा नदिएसम्म संसद्‍मा यो एजेण्डा नछोड्ने एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले बताए। ‘सरकारका मन्त्रीलाई हटाए भनेर प्रधानमन्त्रीले नभनेसम्म हामीले हाम्रो माग राख्छौं,’ उनले भने। मन्त्रीको राजीनामाका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतले पनि एमालेलाई साथ दिइरहेका छन्। आजै अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त संसद्‍मा प्रस्तुत गर्ने कार्यसूची छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्