मन्त्रिपरिषद्‍मा तत्काल कुनै परिवर्तन नहुने प्रधानमन्त्री दाहालको प्रष्टोक्ति

Machchapuchchre

Artharajniti   ~  प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्‍मा तत्काल कुनै हेरफेर नहुने बताएका छन्। दुबईमा भएको कोप-२८ सम्मेमलनमा भाग लिएर आइतबार साँझ स्वदेश फर्किएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै मन्त्रि हेरफेरको विषय आफ्नो दिमागमै नरहेको बताए। ‘यस विषयमा गठबन्धनमा छलफल भएको छैन। सोचिएको पनि छैन। मेरो दिमागमै छैन। यो र्‍युमर मात्र हो,’ उनले भने। सरकार गठनदेखि नै गृहमन्त्री हट्ने र मन्त्रिपरिषद्‍मा हेरफेरबारे चर्चा चलेको भन्दै उनले यसबारे तत्काल केही नहुने बताए। उनले कोप-२८ सम्मेलन नेपालका लागि निकै फलदायी भएको दाबी गरे। जलवायु परिवर्तनले विनाकारण नेपाल जस्ता देशहरुले क्षति बेहोरिरहेको विषयमा आफू विश्व समुदायको ध्यान तान्न सफल भएको र संयुक्त राष्ट्रसंघका महासचिवले समेत नेपाललाई प्राथमिकताको सूचीमा राखेकाले जलवायु अनुकूलनका लागि नेपालमा विदेशीको आर्थिक र प्राविधिक सहयोग आउनेमा अलि ढुक्कको स्थिति बनेको बताए। ‘यो पटक निरीह भएनौं। योद्धाका रुपमा प्रस्तुत भयौं। म सन्तुष्ट छु, जे सोचेको त्यही भयो। नेपाल अहिले विश्वभर चर्चामा छ,’ उनले भने, ‘नेपालले पाउने क्षतिपूर्तिबारे अब साइडलाइन बैठकमा ठोस कुरा हुन्छ।’ सम्मेलनमा उनले जलवायु परिवर्तनले नेपाल जस्ता हिमाली मुलुकहरूमा पारेको प्रतिकूल प्रभावको न्यूनीकरण गर्न तत्काल पहल गर्नुपर्ने, अतिकम विकसित मुलुकले भोग्नुपरेका समस्या सम्बोधनका लागि वित्तीय लगानी र प्रविधि परिचालनमा विलम्ब गर्न नहुने लगायतमा जोड दिएका थिए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्