पूर्वराजा र राप्रपाका नेताहरुबिच भेटवार्ता

Machchapuchchre

Artharajniti  ~  पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका नेताहरुबिच आइतबार भेटवार्ता भएको छ । झापामा शनिबार आयोजित कार्यक्रममा सहभागी हुन पुगेका पूर्वराजालाई त्यसको भोलिपल्ट अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरुले भेटेका हुन् । धुलाबारीस्थित मेची क्राउन प्लाजामा भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको बताइएपनि विस्तृत विवरण प्राप्त हुन सकेको छैन । राप्रपाका नेताहरुका अनुसार पूर्वराजाले राजावादीहरुसँग सामूहिक भेट गरेपछि लिङ्देनसहितका राप्रपाका केन्द्रीय नेताहरुसँग पनि छुट्टै भेटवार्ता गरेका हुन् । सामूहिक भेटमा भने उपस्थित राजावादीहरुले शनिबार बिर्तामोडमा आयोजित कार्यक्रम भव्य भएको बताएका थिए । उनीहरुले वर्तमान व्यवस्थाप्रति वितृष्णा बढेको जिकिर गर्दै सबै राजावादी समूह एकजुट हुने बेला आएको समेत बताएका थिए ।  यस्तै राजावादी पार्टी भएकाले राप्रपा सशक्त ढंगले अघि बढ्नुपर्नेमा पनि जोड राजावादीहरुले गरेका थिए । सो क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहले भने कुनै प्रतिक्रिया नदिइकन सहभागीहरुको धारणा सुनेका थिए । त्यसपछि शाहले राप्रपाका नेताहरुसँग छुट्टै भेट गरेका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्