तालको संरक्षण गर्दै उपमहानरपालिका

Machchapuchchre

अर्थ राजनीति ~ धनगढी उपमहानगरले नगर क्षेत्रमा रहेका प्राकृतिक तालको पहिचान गरी संरक्षण गर्ने कार्य अघि बढाएको छ । नगर क्षेत्रभित्रका सबै वडा र सामुदायिक वनभित्र पर्ने अतिक्रमणमा परेका प्राकतिक तालको लगत तयार गरी अतिक्रमण हटाएर दीर्घकालीनरूपमा संरक्षण गर्ने योजना अघि बढाएको छ ।

उपमहानगरले नगर क्षेत्रभित्र ८४ ताल रहेको विवरण तयार गरेको छ । तीमध्ये अधिकांश ताल अतिक्रमणमा परेका छन् । धनगढीमा रहेका तालको संरक्षण गर्ने हिसाबले १९ वटै वडामा फिल्ड नक्सा र प्राविधिक जनशक्ति पठाएर तालको विवरण तयार गरिएको उपमहानगरका डिभिजन इन्जिनियर दिजराज भट्टले बताउनुभयो ।

नगर क्षेत्रभित्र अतिक्रमण गरिएका ताल खाली गर्ने र संरक्षणका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाइने इन्जिनियर भट्टको भनाइ छ । उहाँले नगर क्षेत्रभित्र रहेको अधिकांश ताल नक्सामा मात्रै देखिने गरेकाले ती तालको संरक्षणका लागि पहल अघि बढेको बताउनुभयो । उपमहानगरपालिकाले नगरका केही वडामा अतिक्रमण गरिएका तालको संरक्षण गरिसकेको जनाएको छ । उपमहानगरले तयार गरेको विवरणमा केही ताल छुटेको भए खोजी गरिने डिभिजनल इन्जिनियर भट्टको भनाइ छ ।

धनगढीमा भूमिगत जलस्रोतको तह घट्दै गएको पाइएकाले पानीको पुनःभरण गर्न, वर्षामा हुने डुबान नियन्त्रण गर्न तथा प्राकृतिक अवस्था र पर्यटनको विकास गर्न ताल संरक्षण गर्ने उपमहानगरले नीतिगत व्यवस्था गरेको उहाँले बताउनुभयो । पानीको पुनःभरण, प्राकृतिक सौन्दर्य, माछापालन र पर्यटनका गतिविधि गर्न नगर क्षेत्रका सम्पूर्ण तालको अतिक्रमण खाली गरी संरक्षण गरिने उपमहानगरले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्