ARTHARAJNITI ~ नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफका खेलहरू मंगलबारदेखि सुरु हुँदैछन् । प्लेअफ अन्तर्गत पहिलो क्वालिफायरमा मंगलबार लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन्।लिग चरणमा शीर्ष दुई स्थानमा रहेका यी टोलीबीचको खेल जित्ने टोली सिधै फाइनल पुग्नेछ। त्यसैले दुवै टोलीको लक्ष्य पहिलो प्रयासमै फाइनलमा स्थान सुरक्षित गर्नु हुनेछ। लुम्बिनीका लागि यो खेल सुदूरपश्चिमविरुद्ध लगातार तेस्रो जित निकाल्ने अवसर पनि हो। गत संस्करणको फाइनलमा सुदूरपश्चिमलाई हराउँदै उपाधि जितेको लुम्बिनीले यस संस्करणको पहिलो खेलमा पनि ७ विकेटको जित निकालेको थियो। ती दुवै खेलमा लुम्बिनीले सुदूरलाई १०० रनभित्रै अलआउट गरेको थियो । अब पहिलो क्वालिफायरमा पनि सुदूरपश्चिमलाई हराउन सके लुम्बिनीको सुदूरपश्चिमविरुद्ध जितको ह्याट्रिक पूरा हुनेछ। लिग चरणमा दुवै टोलीले ५-५ जित निकालेका छन् । सुदूरपश्चिमले २ खेल हार्दा लुम्बिनीले एक खेल मात्र हारेको छ । एक खेल रद्द भएको थियो जसका कारण लुम्बिनीको १ अंक बढी रह्यो ।
नेपाल प्रिमियर लिग : लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दै



