माओवादी धारका पार्टीले २८ गते संयुक्त पत्रकार सम्मेलन गर्ने

Machchapuchchre

अर्थ राजनीति  ~  माओवादी धारका पार्टीहरुले फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गरी शान्ति प्रक्रियाको उल्लंघन गर्ने खालका प्रवृत्तिहरुको खण्डन गर्ने भएको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी धारका नेताहरुको बैठकले सो निर्णय गरेको हो । बैठकले शान्ति प्रक्रियालाई स्थापित गर्ने प्रक्रियाहरु अघि बढाउन संयुक्त अपिल प्रकाशन गर्ने, संयुक्त पत्रकार सम्मेलन गर्ने र फागुन ३० गते नागरिक समाजसँग शान्ति प्रक्रियाको बारेमा अन्तरक्रिया गर्ने निर्णय गरेको नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले बताउनुभयो । उहाँले पछिल्लो शान्ति प्रक्रियाको उल्लंघन गर्ने प्रवृत्ति देखिएकोप्रति आपत्ति जनाउनुभयो । उहाँले भन्नुभयो, ‘शान्ति प्रक्रियाको उल्लंघन गर्ने खालका जुन प्रवृत्तिहरु देखिएका छन्, त्यो मान्यतालाई खण्डित गर्दै, शान्ति प्रक्रियालाई स्थापित गर्ने प्रक्रियाहरु अघि बढाउने, शान्ति प्रक्रियाका कामहरु छिटो सक्न संयुक्त अपिल प्रकाशन गर्ने, प्रेस मिट गर्ने २८ गते दिउँसो सबै नेताहरु मिलेर भन्नेकुरा भएको छ । ३० गते नागरिक समाज, बुद्धिजीविसँग शान्तिप्रक्रियाका बारेमा अन्तरक्रिया गर्ने कार्यक्रम गर्ने निर्णय भएको छ ।’ बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महासचिव गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध दर्ता भएको रिट अदालतको कानूनी प्रक्रिया अनुसार अघि बढ्ने बताउनुभयो । उहाँले शान्ति प्रक्रिया उल्लंघन गर्ने, उल्ट्याउने खालका प्रवृत्तिहरु देखिएको भन्दै शान्ति प्रक्रियाको पक्षमा र शान्ति प्रक्रियालाई छिटो भन्दा छिटो सम्पन्न गर्नुपर्छ भन्ने पक्षमा नै निरन्तर अभियान जारी राख्ने निर्णय भएको बताउनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्