काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले अमेरिकी सहायतासम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारेको बहस राजनीतिक तुष्टिकरणका कारण भइरहेको बताएका छन् ।
उनले एमसीसी इन्डो प्यासिफिक रणनीतिसँग सम्बन्धित नरहेको स्पष्ट पारे । २०१३ मै एमसीसीको कुरा शुरु भएको र इन्डोप्यासिफिकको कुरा २०१७ बाट आएको उनले बताए । मन्त्रिपरिषद्को बैठक सार्वजनिक गर्न विहीवार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता बाँस्कोटाले एमसीसीबारे भइरहेको बहस अनावश्यक भएको बताए ।
‘केही राजनीतिक तुष्टिकरण होला, कसैलाई प्रष्टिकरण दिनुपर्ने होला, त्यसैले यो एमसीसीबारे अहिले बहस भइरहेको भएको हो,’ बाँस्कोटाले प्रश्न गरे‘हुँदै नभएको कुरा छ भनेर हिँड्ने कुरा सही होइन जसले प्रश्न उठाउनु भएको छ उहाँहरुले मात्र पढ्ने त होइन होला, अरुले पनि पढ्न सक्नु होला ?’
उनले एमसीसी अन्तर्गत आउने ५०० मिलियन डलर अनुदान विद्युत प्रशारण लाइन र सडक स्तरउन्नतिका लागि आउने भन्दै त्यसमा अमेरिकाको कुनै रणनीति नजोडिने दाबी गरे ।
उनले आफूहरुले अमेरिकासँग अरु इन्ट्रेस्ट नसोधेको उनको भनाइ थियो । उनले भने ‘नेपाल र अमेरिकाबीचमा जहाँ सम्झौता भएको छ । त्यसमा जे कुरा उल्लेखित भएको हो त्यो कार्यान्वयन हुने । हामीले तिम्रा अरु के के इन्ट्रेष्ट छ ति कुरालाई पनि यही भित्र हाल न त भनेर माग गरेका पनि छैनौं ।’