सभामुखको विषयमा ओली-प्रचण्डको आ-आफ्नै अडान, दुई अध्यक्षबीच कुरा मिलेन

Machchapuchchre

काठमाडौं । पूर्वएमाले र पूर्वमाओवादीबीच सभामुख चयनमा कुरा मिलेको छैन । पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली र अर्का कार्यकारी अध्यक्ष प्रचण्डबीच सभामुख कसले प्रस्ताव गर्ने भन्ने विषयमा कुरा मिलन नसकेको हो । पूर्व माओवादी पक्षले सभामुख आफुले भनेअनुसारको हुनुपर्ने अडान राख्न्दै आएको छ ।

तर पूर्व एमालेले पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई नै फेरी सभामुख बनाउने तयारी गरेपछि प्रचण्ड ओलीसँग बिछ्किएका छन् । यता बरिष्ठ नेताहरुले सचिवालय बैठकमा छलफल गरेर एउटै मत बनाउन नेतृत्वलाई दबाब दिएका छन् ।

प्रचण्डले सभामुख कसलाई बनाउने भन्ने प्रस्ताव आफूले ल्याउन पाउनुपर्ने अडान राखेका छन् । प्रतिनिधिसभाको सभामुख यसअघि नै तत्कालीन माओवादीको भागमा परेकाले प्रचण्डले अबको सभामुख पनि आफूले प्रस्ताव गर्ने बताएका छन् । नेकपाका एक सचिवालय सदस्यका अनुसार प्रचण्डले व्यक्ति तोकेर छलफल गरेका छैनन् । उनले सचिवालयमा आफूले नाम प्रस्ताव गर्ने मात्र बताएका छन् ।

तर नेताहरुले भने दुई अध्यक्षबीच सहमति गरेर एउटै नाम ल्याउन सुझाव दिएका छन् । सम्भवतः नेकपा सचिवालय बैठक शुक्रबार बस्नेछ । स्रोतले भन्यो- सभामुखमा दुई अध्यक्षबीच कुरा मिलिसकेको छैन । उहाँहरु आ-आफ्नै अडानमा हुनुहुन्छ । प्रचण्डले सभामुख मैले प्रस्ताव गर्ने हो यसमा ओलीजीले अप्ठेरो पारिदिनुभएन भन्ने आशय प्रकट गर्नुभएको छ । तर प्रधानमन्त्रीचाहिँ अबको संसद झनै पेचिलो बन्ने भएकाले सुवास नेम्वाङलाई बनाउन चाहानुहुन्छ ।

प्रचण्डले अग्नि सापकोटाको नाम अघि सार्ने अनुमान छ । प्रचण्डमाथि सभामुख पद पूर्व एमालेलाई नछाड्न दबाब छ । उनले ओली र अन्य नेताहरुसँगको भेटमा सभामुख प्रस्ताव गर्ने अधिकार आफूलाई दिन आग्रह गरेका छन् । पूर्व एमालेबाट सभामुख दाबी गर्न नमिल्ने प्रचण्ड पक्षका नेताहरुको भनाइ छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्