मन्त्रीबाट राजीनामा दिएपछि उपेन्द्र यादवले भने – ओली सरकारको दम्भ सकियो

Machchapuchchre

काठमाडौं । सरकारलाई दिएको समर्थन फिर्ता लिएको समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दुई तिहाइको दम्ब सकिएको टिप्पणी गरेका छन् । संविधान संशोधन प्रस्ताव मन्त्रिपरिषदमा राख्न नदिएपछि समाजवादीबाट सरकारमा गएका उपप्रधान तथा कानूनमन्त्री यादव र सहरी विकासमन्त्री मो. इस्तियाक राईले पदबाट राजीनामा दिएका थिए । त्यसको भोलिपल्ट समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

पार्टीको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा समाजवादीका अध्यक्ष यादवले भने, ‘हिजोसम्म सरकारको दुई तिहाईको दम्भ थियो, त्यो आजदेखि समाप्त भयो ।’ साथै सरकारमा कम्युनिस्ट बाहेक अरु पनि छन् भन्ने पनि अन्त्य भएको उनले बताए । अध्यक्ष यादवले राजपाले सरकारमा सहभागी भएर आ’त्म’ह’त्या गर्ला भन्ने आफूलाई नलागेको बताएका छन् । यादवले मंगलबारमात्रै उपप्रधानमन्त्रीबाट राजीनामा दिएका थिए ।

‘राजपाले वर्तमान सरकारमा सहभागी भएर आत्महत्या गर्ला भन्ने विश्वास मलाई छैन्,’ यादवले भने । संविधान संशोधन गर्नु पर्ने आफूहरुको सर्त सरकारले पूरा नगरेकाले सरकारबाट बाहिरिएको उनको भनाई थियो । प्रधानमन्त्री ओलीलाई व्यङ्य गर्दै यादवले भने, ‘संविधान संशोधन हुन्छ भन्ने सम्झौतामा हस्ताक्षर गर्ने प्रधानमन्त्रीलाई के-के विषयमा सम्झौता गर्ने भन्दै हस्ताक्षर गरेको हो भन्ने त थाहा होला नि ?’

यादवले निर्वाचन प्रणाली, शासकीय स्वरुप, संघीय प्रणालीलगायत विषयमा संविधान संशोधन गर्नु पर्ने बताए ।उनले आवश्यकता र औचित्यका आधारमा मात्रै संविधान संशोधन हुन्छ भन्ने प्रधानमन्त्री ओलीको भनाई कार्यान्वयन हुने अवस्था युगौँसम्म नआउने त होइन होला नि भनेर प्रश्न समेत गरे ।

ओलीले राजनीतिक स‌ंस्कारहीनता देखाएको आरोप यादवको छ । ‘सत्तारुढ दलबाट सरकारमा सहभागी मन्त्रीहरुको मन्त्रालय परिवर्तन गर्दा एकपटक सोध्ने प्रयाससमेत गर्नु भएन, बजेट निर्माण गर्ने छलफलमा बोलाउनु भएन । कुनै महत्वपूर्ण निर्णय गर्दा सरसल्लाह भएन, यस्तै हुन्छ राजनीतिक सस्कार ?’ यादवले भने ।

यादवले राजपासँग पार्टी एकीकरण गर्ने विषय अन्तिम चरणमा पुगेको पनि बताए । राजपा अब कसरी अगाडि बढ्छ, त्यसले एकीकरण हुने नहुने निर्भर गर्ने यादवको भनाई छ । ‘राजपाले हामीसँग एकीकरणका लागि सरकारबाट बाहिरिनु पर्ने सर्त राखेको थियो, त्यो हामीले पूरा गरेका छौ,’ यादवले भने, ‘अब उनीहरु कसरी अगाडि बढ्छन् त्यसले एकता हुने नहुने तय गर्छ ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्