रौतहटमा भेटिएको बम नेपाली सेनाद्वारा निष्क्रिय

Machchapuchchre

रौतहट । रौतहटको इशनाथ नगरपालिकाको कार्यालय परिसरमा राखिएको शंकास्पद बस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । इशनाथ-३ मा रहेको नगरपालिका कार्यालयमा अज्ञात व्यक्तिले झोलामा शंकास्पद रुपमा प्रेसरकुकर राखेका थिए । बिहान सवा नौ बजे कार्यालय परिसरमा झोलामा प्रेसरकुकर, तार तथा मोबाइल समेत जडान गरी राखेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय रौतहटबाट गएको टोलीले सो स्थानलाई घेरा हालेका थिए ।

झोलामा रहेको सो बस्तु बम हुन सक्ने आशंकामा प्रहरीले मोबाइल नेटवर्क बन्द गर्न लगाएको थियो । प्रेसरकुकरमा मोबाइल जोडिएको देखिएकोले नेपाली सेनाले निष्क्रिय बनाउने तयारी गरेपछि प्रहरीले टेलिकमलाई मोबाइल नेटवर्क बन्द गर्न लगाएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी नविन कार्कीले बताए ।

नेपाली सेनाको इन्द्र बक्स गणबाट खटिएको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएपछि मोबाइल सेवा सुचारु भएको छ । प्रेसर कुकरमा टेप लगाएर तार र मोबाइल समेत जोडिएको बस्तु देखेपछि स्थानीयहरु त्रसित बनेका थिए । करिब दुई घण्टाको प्रयासपछि सो बमलाई निष्क्रिय गरिएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्