राष्ट्रपतिको उपस्थितिमा तमु ल्होसार मनाइने

Machchapuchchre

काठमाडौं । तमु समुदायले आफ्नो महान पर्व तमु ल्होसार धुमधामले मनाउने तयारी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पुस १५ गते काठमाडौंको टुँडिखेलमा उद्घाटन समारोह आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।

‘राष्ट्रिय पर्व तमु ल्होसार च्यु ल्हो (मुसा वर्ग) २०७६ को आव्हान, अस्तित्व र मौलिक पहिचानका लागि तमुवानको अभियान’ भन्ने मूलनारासहित काठमाडौंमा पुस १३ देखि १५ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

फो ल्होको विदाई तथा च्यु ल्होको स्वागत गरी मनाइने ल्होसारका अवसरमा लोकदोहोरी प्रतियोगिता, नृत्य प्रतियोगिता, खेलकुद प्रतियोगिता आयोजना गरिएको तमु ल्होसार मूल आयोजक समितिका संयोजक श्रीप्रसाद गुरुङले जानकारी दिए ।

संयोजक गुरुङका अनुसार पुस १३, १४ र १५ गते खुल्ला लोकदोहोरी, १४ गते खेलकुद प्रतियोगिता र १५ गते नृत्य प्रतियोगिता आयोजना गरिएको छ । यस्तै फो ल्होको विदाई तथा च्यु ल्होको स्वागतसँगै पुरोहितबाट ग्रह शान्ति १४ गते राति १२ बजेसम्म र १५ गते झाँकी र्‍याली कार्यक्रम राखिएको छ ।

ल्होसार मूल आयोजक समितिका महासचिव लोकबहादुर गुरुङका अनुसार तमुहरूले आफू भन्दा ठूलासँग आर्शिवाद थापेर घरघरमा समेत ल्होसार मनाउँछन् । उनले भने, ‘नयाँ वर्ष मनाउने क्रममा यस वर्ष च्यु ल्हो वर्षलाई सवैको शुभ् होस् भनि आफ्नो परम्परागत पुरोहित खेगी पच्ह्यु क्ह्लेप्री, बोन्पो लामा र लामा पुरोहितहरुद्धारा १४ गते रातको १२ बजेसम्म दुःख दोखलोका ग्रह दशा शान्ति गरी पुस १५ गते नयाँ विहानीको झुल्के घाममा नयाँ वर्गको स्वागत गरी मनाउँदैछौं ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्