प्रदेश ३ सरकारले आठ स्थानमा ‘हिल स्टेसन’ बनाउने

Machchapuchchre

चितवन । पर्यटकीय क्षेत्र पहिचानसहित पर्यटन विकासको नयाँ परिकल्पनासहित प्रदेश ३ सरकारले आठ स्थानमा हिल स्टेसन बनाउने भएको छ । प्रदेश सरकारले आव २०७६/७७ मा सिन्धुपाल्चोकको मुडे, दोलखाको जिरी, धादिङको रुबी भ्याली, मकवानपुरको चित्लाङ, रामेछापको शिवालय, सिन्धुलीको सिन्धुलीगढी, नुवाकोटको ककनी र रसुवाको सोम्दाङलाई हिल स्टेसनका रूपमा विकास गर्न लागेको हो ।

प्रदेश सरकारले घोषणा गरेको भ्रमण दशक २०२० देखि २०३० अन्तर्गत यसलाई ड्रिम प्रोजेक्टका रूपमा लिएको छ । प्रदेशले यसै आर्थिक वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्यका साथ २० करोड रुपैयाँ छुट्याएको छ । यसैगरी, तीन स्थानको ठेक्का सम्झौता भएको, दुई स्थानको ठेक्का प्रक्रिया रहेको, तीन स्थानको डीपीआर अन्तिम चरणमा पुगेको प्रदेश ३ को उद्योग वन तथा पर्यटन मन्त्रालयका पर्यटन आयोजना प्रमुख शिव सापकोटाले बताए ।

हिल स्टेसन निर्माण गर्न प्रदेश ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आव २०७५/७६ मा नै ५ करोड रुपैयाँ रकम विनियोजन गरे पनि काम सुरु हुन सकेको थिएन । तर, हिल स्टेसन मल्टिपर्पोज हुनेगरी निर्माण गर्न प्रदेश ३ को पर्यटन मन्त्रालयले डिजाइन तयार गरी काम गर्न सुरु भइसकेको आयोजना प्रमुख सापकोटाले जानकारी दिएका छन् ।

पर्यटकहरूका लागि गर्मी छल्न जाने स्थानका रूपमा हिल स्टेसन बन्नेछ । हिल स्टेसनमा बगैंचा, भ्यु टावर, कोसेली घर, सामुदायिक लज, मनोरञ्जन घर, निजी रिसोर्टलगायतका भौतिक संरचना निर्माण गरिने योजना छ ।

हिल स्टेसनमा रिसोर्ट चलाउन चाहनेलाई सार्वजनिक जग्गा उपलब्ध गराइने सापकोटाको भनाइ छ । निजी रिसोर्ट नभएका र सञ्चालन गर्न नसकिने स्थानमा होमस्टे निर्माण गर्ने योजना रहेको उनले बताए । गर्मी छल्नका लागि पुग्ने पर्यटक केही समय आनन्दले रमाउन सक्नेगरी हिल स्टेसन बन्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्