प्रदेश १ मा ३०० उद्योग बन्द हुने भएपछि हजारौंले रोजगारी गुमाउदै

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को चौथो साधारणसभाले सरकारले बजेटमार्फत गरेको करका दर हेरफेरले सेनेटरी प्याड, वायर, वनस्पति तेललगायत ३०० स्वदेशी उद्योग धराशयी हुने र हजारौंले रोजगारी गुमाउने ठहर गरेको छ । विराटनगरमा सम्पन्न सभाले कच्चा पदार्थमा बढाइएको भन्सार दर संशोधन गर्न पहल गर्ने निर्णय पनि गरेको छ । सभाले विभिन्न १५ बुँदे प्रस्ताव पारित गरेको छ । सभाले आगामी मौद्रिक नीति कसिलो हुनुपर्ने, तरलता अभावबाट सृजित समस्या निराकरण गर्न उत्पादनशील र अन्य क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदर फरक गरी उत्पादनशील क्षेत्रमा प्रवाह हुनेलाई एकल अंकमा कायम गर्नुपर्ने, प्रदेश १ को राजधानी विराटनगरमा प्रादेशिक औद्योगिक प्रदर्शनीस्थल र विशेष आर्थिक क्षेत्र स्थापनाको सरकारी योजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ । महासंघले विराटनगर विमानस्थल स्तरोन्नतिको काम अघि बढाउन आवश्यक बजेट विनियोजन गर्नुपर्ने, प्रदेशस्तरीय राजस्व न्यायाधिकरणको कार्यालय स्थापनाका लागि पहल गर्ने, आगामी फागुनभित्र प्रादेशिक व्यापार मेला आयोजना गर्ने, यस प्रदेशबाट अलैंची, चिया, सुपारी, अदुवा, अम्लिसो, जडीबुटीको निर्यात प्रवर्द्धनका लागि पूर्वाधार र आधुनिक कृषि उपकरणको विकासका लागि प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ । सभाले विभिन्न पर्यटकीय तथा धार्मिकस्थलको विकासमा जोड दिएको छ । पारित प्रस्तावमा प्रदेश १ सरकारले विराटनगरमा प्रादेशिक औद्योगिक प्रदर्शनी र विशेष आर्थिक क्षेत्र स्थापनाको कार्यक्रम ल्याए पनि कार्यान्वयन नगरिएको भन्दै यसलाई तत्काल लागू गर्न माग गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्