भारतीय अतिक्रमण विरुद्ध जागरण मञ्चकाे अभियान, काठमाडौंमा बृहत अन्तरक्रिया, कसले के भने ?

Machchapuchchre

काठमाडौं । पूर्वमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता राम कार्कीले भारतमा पनि राष्ट्रियता परीक्षण भइरहेको तर्क गरेका छन्। अहिले नेपालसँग देखिएका सीमा विवाद यसकै उपज भएको उनको भनाइ छ। सोमबार काठमाडौंमा सम्पन्न ‘नेपालको राष्ट्रियतामा भारतीय प्रभाव’ विषयक अन्तरक्रियामा राष्ट्रिय जागरण मन्चका संयोजक गुणराज लोहनीले प्रस्तुत गरेको १४ पृष्ठ लामो कार्यपत्रमाथि टिप्पणी गर्दै नेता कार्कीले यस्तो तर्क गरेका हुन् ।

कार्यक्रममा बोल्दै उनले भने – ‘भारतमा दुई पक्ष रहेका छन्, एउटा छिमेकीसँग राम्रो सम्बन्ध बनाउनुपर्छ भन्‍ने छ, अर्काे पेलेर जानुपर्छ भन्ने छ। त्यै भएर अहिले भारतमा उसको राष्ट्रियताको परिक्षण भइरहेको छ ।’ नेपालका कूटनीतिक कागजजातमा संस्थागतमा निरन्तरता नभएकोले छिमेकीले हेपेको उनको गुनासो छ। ‘सरकारको तर्फबाट कोही कुनै देशमा वार्ता गर्न गयो भने यहाँ ल्याएर आधिकारिक रुपमा बुझाउने ठाउँ छैन। यहाँ रेकर्ड राख्ने, संस्थागत गर्ने नीति छैन। संसद निरीह छ,’ कार्कीले भने ‘ सरोकार राख्ने नेपाली बढेका छन्। यसरी नागरिक सजग भएको देशलाई सानै भए पनि कसैले दबाउन सक्दैन।’

सोहि कार्यपत्रमाथि टिप्पणी गर्दै  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा.नारायण खड्काले आफ्नो अतिक्रमित भू-भाग फिर्ता ल्याउन नेपालसँग दस्तावेज संग्रह आवश्यक रहेको बताएका छन्। राष्ट्रियता साझा भाव भएपनि परमाण जुटाएर कुटनीतिक छलफल आवश्यक रहेको उनको भनाई छ।

‘जुलाईको अन्तिम सातातिर संसदको एउटा समितिमा परराष्ट्रमन्त्रीलाई सोधियो, तपाई हामीसँग सुगौलीसन्धीको मुलकपी छकि छैन भन्दा छैन,’ सोमबार नेपालको राष्ट्रियतामा भारतीय प्रभाव विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने,‘१९५० को सन्धीको सोध्यो त्यो पनि छैन ।’ कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले भारतले अतिक्रमण गरेको सीमा फिर्ता गर्ने विषयमा पहल गर्न सरकार चुकेको आरोप लगाएका छन्।

छिमेकी भारतले असल र महान छिमेकी हुन तीनवटा काम गर्नुपर्ने उनले बताए । ‘भारतले तीनवटा काम गर्नुपर्‍यो। जति पनि हडपेको जमिन छ, त्यो भूमि सर्लक्कै फिर्ता गर्नुपर्छ, सिमाना अतिक्रमण बन्द गर्नुपर्छ र नेपालको आन्तरिक मामिलामा सुराकी खटाउने काम बन्द गरी टिस्टा-काँगडाको भूमि फिर्ता गर्नुपर्‍यो,’ उनले थपे, ‘भारतले यी तीन काम गर्‍यो भने बल्ल नेपालीले दक्षिणी छिमेकी महान भन्‍नेछन्।’

उनले भूमि फिर्ताबारेमा ओली नेतृत्वको सरकारले लामोसमय केही नगरी बसेको आरोप लगाए। ‘संसदमा रहेका दलहरु बैठक बोलाएर नेपालको अतिक्रमित भूमि फिर्ता गराउन राष्ट्रिय सहमति बनेको समाचार सुन्यौँ,’ उनले भने, ‘यो सरकारको पहल सही हो। यसमा नेकपा माओवादी केन्द्रले पनि सरकारको समर्थन गर्‍यो। तर, लामो समय सरकार केही नगरी बस्यो। अब त पुरुषलाई महिला र महिलालाई पुरुष बनाउन सक्ने बहुमतको सरकारले सास फेरेको सुनिदैँन, देखिँदैन।’

सिमानास्थित सुरक्षा पोस्टहरु थपेर २२२ बनाउने बाहेक यस विषयमा सरकारले केही नगरेको उनको आरोप छ। ‘प्रधानमन्त्रीले भारतीय सेना हटाइन्छ भनेर ठूलो आजावमा बोल्नु भयो। आजको प्रतिक्रिया त्यो नहटाउन बोलेको हुनुपर्छ भन्‍ने छ। भएको पनि त्यही छ,’ उनले भने। सरकारका प्रवत्ता गोकुल बाँस्कोटाले केही दिनअघि देशमा राजनीतिक क्रान्ति सकिएको भन्दै दिएको अभिव्यक्तिप्रति किरातीले आपत्ति जनाए।

‘सरकारको प्रवत्ताले अस्ति एक दिन राजनीतिक क्रान्ति सकियो अब खुरुखुरु आर्थिक क्रान्ति गर्नुपर्छ भन्‍नुभयो। नेपालमा राजनीतिक क्रान्ति पुरा भएको हो भने राष्ट्रियताको मामिला त टुंगिसक्नु पर्थ्यो,’ उनले भने, ‘हाम्रो स्वाधीनताको मामिला, सार्वभौमसत्ताको मामिला, अखण्डताको मामिला टुंगिसकेको हुनुपर्थ्यो। टुंगिएन र त हामी यो दु:ख भोगिरहका छौँ। सरकारका प्रवक्ता असाध्य झुट बोलिरहनु भएको छ।’

भारतले अतिक्रमण गरेका सबै भूभाग फिर्ता ल्याउन सरकारले ढिला गरेको उनको भनाई छ। ‘हाम्रो सुस्ता, मैसपुर, लिम्पियाधुरा, कुटियाङ्दी, लिपुलेक फिर्ता गराउने काम सरकारले गर्नुपर्छ,’ उनले थपे, ‘यदि गरेन भने सरकारको बाह्र बजाउने काम जारी रहन्छ। फिर्ता गर्नै पर्छ। टिस्टा-काँगडा फिर्ताको आन्दोलन पनि अब उठाउनुपर्छ।’ सुगौली सन्धिपछि नेपालीको थाप्लोमा राष्ट्रियताको नाममा दु:ख थोपारिएको उनको भनाई छ।

यस्तै कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले भारतले हडपेको नेपाली भूमि फिर्ता ल्याउन नेपाल सरकारले आलटाल गरेको आरोप लगाएका छन्। अध्यक्ष कट्टेलले भारतले विधिवत रुपमै नेपालको भूमि आफ्नो नक्सामा पारेको बताए।

‘इतिहासमा पहलो चोटी भारतीय विस्तारवादले जबरजस्ती हडप्दै बसेको नेपाली जमिनलाई अहिले आएर विधिवत रुपमै आफ्नो नक्साभित्र पारेको छ,’ उनले भने, ‘यो विषय नेपालीको लागि अत्यन्तै गम्भीर र पेचिलो विषय बनेको छ।’ अहिलेको सरकारले नेपालको सीमा मिचिएको विषय अहिलेको नभएको बताएको भन्दै उनले दुखेसो गरे।

‘अहिलेको सरकारका प्रवत्ता र नेताहरुले कतिपय ठाउँमा भनेको सुनियो यो आजको विषय होइन। यो आजको विषय होइन भन्नेकुरा क ख जानेको हरेक नेपालीलाई थाहा छ,’ उनले भने, ‘आजको विषय त विधिवतरुपमा भारत‍ीय सरकारले हाम्रो भूभाग आफ्नो नक्सामा समेटेको विषय हो। त्यसकारण यसको मुख्य रुपमा जिम्मा लिएर त्यसको रक्षा गर्नुपर्ने आजको सरकारको मुख्य जिम्बेवारी हो।’

सरकार देशको प्रतिनिधि भएको भन्दै उनले राष्ट्रियताको सवालमा सरकार हलुका भएको आरोप लगाए। ‘उहाँहरु आजको कुरा होइन भनेर पन्छिनु भएको छ। यो भन्दा राष्ट्रहित विपरीतका अभिब्यक्ति अरु केही पनि हुँदैन। हामीलाई थाहा छ सरकार देशको प्रतिनिधि हो,’ उनले भने, ‘विधिवतरुपमा देशको भूभाग गुमेको छ, आजसम्म परराष्टको कर्मचारीले विभिन्न अर्थ लाग्नेगरी जारी गरेको प्रेसनोट र नेपाली जनातालाई स्पष्ट नपारिएको तर, प्रचार गरिएको कुटनीतिक नोट पठाइएको भन्नेबाहेक केही भएको छैन।’

नेपाली भूमि फिर्ता ल्याउनुपर्ने विषयमा जनताले दबाब दिँदा प्रहरीले दमन गरेको उनको आरोप छ। उनले राष्ट्रियताको विषयमा सरकार अलमल रहेको पनि बताए। ‘देशको भूभाग मिचिएको अबस्थामा पनि यति अलमल र कुनै ठोस प्रतिक्रिया हुँदैन भने नेपाली जनताले यो सरकारको शासन, कानुन स्वीकार्नुपर्ने के कारण हुन्छ?,’ उनले प्रश्न गरे।

दिल्ली सम्झौतापछि नेपालको राजनीतिक, आर्थिक र अन्य क्षेत्रमा भारतीय प्रभाव बढ्दै गएको उनको ठहर छ। महाकाली सन्धि गर्दैमा महाकालीको मुहान एकीन नभएकोले अहिले भारतले नेपाली भूभाग हडपेको बताए। ‘महाकाली सन्धी गर्नुपहिले महाकालीको मुहान एकिन किन भएनन्?’ उनले भने, ‘भारतले यही नक्सालाई टेकेर नेपाली भूभाग समेटेर नक्साजारी गरेको छ। अहिले भारतले हिम्मतकासाथ खडा गरेको नक्कली महाकाली नै त्यो बेला सम्झौता भएको मुहान मानेर यहाँका सत्तासिनहरुले सम्झौता गरेका छन्।’

उनले तत्कालीन समयमा कांग्रेस, एमाले र राप्रपा भएर गरेको सम्झौता अनुसार नै अहिले नक्सा जारी गरेको उनको ठम्याई छ। कार्यक्रममा नेकपा क्रान्तिकारीका प्रवक्ता हरिभक्त कँडेलले पनि राष्ट्रियताको पक्षमा आफ्नो धारणा राखेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्