उपनिर्वाचन– निर्वाचन आयोगद्वारा एकीकृत सुरक्षा योजना परिमार्जनसहित पारित

Machchapuchchre

काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर १४ मा हुने उपनिर्वाचनका लागि तयार गरिएको एकीकृत सुरक्षा योजना परिमार्जनसहित पारित गरेको छ । उच्चस्तरीय सुरक्षा समितिका संयोजक निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालको अध्यक्षतामा बसेको बैठकले सुरक्षा निकायबाट प्रस्तुत एकीकृत सुरक्षा योजना परिमार्जनसहित पारित गरेको हो ।

निर्वाचन आयोगका आयुक्त पौड्यालले दिएको जानकारी अनुसार बैठकले सुरक्षाको समग्र अवस्थाबारे विश्लेषण गरी उपचिर्वाचन हुने मतदान स्थललाई सामान्य, संवेदनशील र अति संवेदनशील वर्गीकरण गरी सोहीअनुरुपको सुरक्षा व्यवस्था मिलाउने निर्णय गरेको हो ।

सरकारले उपनिर्वाचनका लागि नेपाल प्रहरी छ हजार, सशस्त्र प्रहरी बल र नेपाली सेनाको जनशक्ति १०/१० हजारको सङ्ख्यामा परिचालन गर्ने निर्णय गरेको छ । बैठकपछि आयुक्त पौड्यालले भने, “सुरक्षा निकायबाट प्रस्तुत सुरक्षा योजनामाथि आएका सुझावलाई समेटेर निर्वाचनमा उचित सुरक्षा प्रबन्ध मिलाउन संवेदनशील, अति संवेदनशील र सामान्य मतदान स्थलको वर्गीकरण गरिएको छ ।

वर्गीकरण गरिएका स्थलमा पर्याप्त सुरक्षा प्रबन्ध मिलाउने सन्दर्भमा कतिपय स्थलमा सुरक्षाकर्मी परिचालित भइसकेका र केही स्थलमा भने एक–दुई दिनभित्र परिचालन हुनेछ । बैठकमा गृह र रक्षा मन्त्रालयका सचिवले उपनिर्वाचन हुने क्षेत्रमा सुरक्षा व्यवस्था पर्याप्त रहेको भनी आयोगलाई आश्वस्त बनाएका थिए ।

आयुक्त पौड्यालले भने, “उपनिर्वाचन हुने सबै ठाउँमा सुरक्षा अवस्था चुस्त छ, कुनै भय र त्रास छैन, मङ्सिर १४ गते बिहान ७ बजे ढुक्क भएर आफ्नो मतदाता परिचयपत्र लिएर मतदान स्थान जान आयोगका मतदातालाई आग्रह गर्दछ ।’’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्