लुम्बिनीमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थाल्यो

Machchapuchchre

अर्थ राजनीति  ~  कोरोना महामारीले थला परेको लुम्बिनी क्षेत्रको पर्यटन व्यवसाय फेरि पुरानै लयमा ल्याउन सरोकारवालाहरूले पहल थालेका छन् । १८ महिना लामो लकडाउन तथा निषेधाज्ञाका कारण लुम्बिनी क्षेत्र सुनसान रह्यो । बिस्तारै कोरोना सङ्क्रमण घट्दै गएको र अन्तर्राष्ट्रिय नाकासमेत खुला भएका कारण व्यवसायीहरू अब व्यापार वृद्धि हुने अपेक्षामा छन् । लुम्बिनीमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न र पर्यटकको बसाइ लम्ब्याउन व्यवसायीहरूले अग्रसरता देखाएका छन् । कोरोना महामारीमा पनि लुम्बिनी क्षेत्रमा आन्तरिक पर्यटक आइरहेका थिए । बिस्तारै सबै क्षेत्र खुल्न थालेपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेको छ ।महामारीका कारण लुम्बिनीमा हुने मोलम पूजा, त्रिपिटक च्यान्टिङ, फुल मून डे, महायान र थेरावाद समुदायका विभिन्न क्रियाकलाप कम हुँदै गएकोमा यसलाई तत्काल अगाडि बढाउने प्रयास भइरहेको लुम्बिनी विकास कोषका सूचना अधिकारी  डा. हरिध्वज राईले बताएका छन् । उनका अनुसार लुम्बिनी विकास कोषले कोरोनाका कारण मृत्यु भएका बौद्ध धर्मावलम्बीहरूको सामूहिक पूजा गर्ने विषयमा पनि छलफल भएको छ । पर्यटन क्षेत्रलाई चलायमान बनाउन बौद्ध धर्मालम्बीहरुलाई विभिन्न मुलुकबाट भित्र्याउने योजना अगाडि सारिएको छ । लुम्बिनी विकास कोषको तथ्याङ्कअनुसार लकडाउन भएपछि अहिलेसम्म विदेशी पर्यटक जम्मा २९३ जना (पासपोर्ट लागु हुने देशबाट) आएका छन् भने भारतबाट ३७ हजार २ सय पर्यटक आएका छन् । नेपालीचाहिँ १ लाख ७९ हजार ७३ जना लुम्बिनी क्षेत्रको भ्रमणमा आएका छन् । यहाँ आउने आन्तरिक पर्यटकहरू केही घण्टा घुमेर फर्कने गर्दछन् । यस्तै, भारतबाट आउनेहरू पनि अधिकांश उतैबाट खाजा लिएर आउने र केही घण्टा घुमेर जाने भएकोले यहाँको आर्थिक गतिविधिमा खासै प्रभाव नपार्ने डा. राईले बताए । आइतबारदेखि सुनौली–बेलहिया नाका सञ्चालनमा आएको छ । नाका खुला भएसँथै युरोपियन मूलका केही पर्यटक आउन थालेको होटल व्यवसायी खेम श्रेष्ठले बताए । जसबाट केही आशा पलाएको उनको भनाइ छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्