पाँच जेटस्ट्रिम विमान थपेर सेवा गर्दै गुण एयरलाइन्स

Machchapuchchre

अर्थ राजनीति  ~  गुण एयरलाइन्सले आगामी असोजबाट उडान गर्ने भएको छ । बिहीबार यती समूहले जेटस्ट्रिम सिरिजका विमान हस्तान्तरण गरेसँगै गुणले ७ वटा विमानका साथ आन्तरिक उडानमा बलियो उपस्थिति जनाउने भएको हो । यती समूहमा रहेका पाँचवटा जेटस्ट्रिम सिरिजका विमान गुण एयरलाइन्सको नाममा हस्तान्तरण भएको गुण समूहका अध्यक्ष राजेन्द्र शाक्यले बताए । उडान अनुमति, आन्तरिक तयारी र विमानको प्राविधिक जाँचको सबै प्रक्रिया पूरा भएपछि असोजबाट नियमित उडान थाल्ने उनले बताए ।बिहीबार यती समूहका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पाले गुण समूहका अध्यक्ष शाक्यलाई पाँचवटै जेटस्ट्रिम सिरिजका जहाज हस्तान्तरण गरेका थिए । गुण एयरलाइन्सले हाल २ वटा अमेरिकी बीचक्राफ्ट जहाजबाट पोखरा, भरतपुर, भैरहवा र माउन्टेन फ्लाइट गरिरहेको छ। गुण एयरलाइन्सले यतीका विमान यसअघि नै खरिद गरेको भए पनि औपचारिक हस्तान्तरण बिहीबार भएको हो । असोजदेखि सिमरा, भरतपुर, जनकपुर, भद्रपुर, विराटनगर, नेपालगन्ज, तुम्लिङटारलगायतका विभिन्न गन्तव्यमा उडान सेवा विस्तार गर्ने कम्पनीले जनाएको छ । गुण समूहका अध्यक्ष शाक्यले एक अर्ब लगानी गरेर गुण एयरलाइन्सलाई विमान थप गरेर अन्य गन्तव्यमा उडान गर्न लागेको बताए । प्राधिकरणबाट एओसी पाएसँगै कम्पनीसँग हाल भएका दुई बीचक्राफ्ट सहित सातवटा विमान हुनेछन् । गुण समूहले दुई वर्षभित्र नौवटा विमानमार्फत सेवा दिने योजना बनाएको छ । साथै आगामी दिनमा दुईवटा ट्विनअटर सिरिजका विमान थप गरेर ग्रामीण क्षेत्रमा उडान भर्ने अध्यक्ष शाक्यको भनाइ छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्